जीतपुरमा जेठ १ गतेदेखि जीतपुरसिमरा महोत्सव हुने, तयारी तिब्र

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा जेष्ठ १ गतेदेखी जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने भएको छ । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लि बिरगञ्जको आयोजनामा जेठ ५ गतेसम्म महोत्सव आयोजना हुन लागेको हो ।
जीतपुरको पहिचान स्थापित गर्न र बजारलाई थप चलायमान गर्ने उदेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले जानकारी दिनुभयो । वडा नम्बर ७ को वडा कार्यालय महोत्सवको सह आयोजक संस्था हो ।
महोत्वसमा विभिन्न क्षेत्रका व्यवसायीक स्टल, मनोरञ्जनात्मक बाल उद्यान, मुखै रसाउने खानाका बिभिन्न स्टल, बिभिन्न प्रदशनी सहित स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने आयोजक दि लिडका अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभयो । जीतपुरको शान्ति टोल खेल मैदानमा आयोजना हुने महोत्सव १ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।
महोत्सवबारे जानकारी दिन सोमबार वडा नम्बर ७ को वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा आयोजक संस्थाका सचिव रबिन्द्र पौडेलले महोत्सवबारे जानकारी गराउनुभएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै सचिव पौडेलले महोत्सवको तयारी धमाधम भईरहेको बताउनुभयो । पत्रकार सम्मेलनमा वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता, आयोजक संस्थाका शिव घलान लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन महोत्सवका प्रेस संयोजक एस एस पटेलले गर्नुभएको थियो ।