काठमाडौँ–तराई/मधेस द्रुतमार्गको काम आठ वर्षमा ४० प्रतिशत
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना २०८१ चैत मसान्तसम्म ३९.३४ प्रतिशत समष्टिगत भौतिक प्रगतिको अवस्थामा पुगेको छ । यो अवधिमा ४१.०६ प्रतिशत वित्तीय प्रगति (मोबिलाइजेशन सहित) रहेको नेपाली सेनाले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७४ साउन २७ गते यो आयोजना निर्माणका लागि नेपाली सेनालाई औपचारिक रूपमा जिम्मा दिएको थियो । सम्झौताअनुसार ४ वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने यो आयोजना ८ वर्ष पुग्नै लाग्दा ४० प्रतिशत पनि पूरा हुन नसकेको हो ।
सेनाले निर्माण गरिरहेको यो आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेज छन् । यसमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९ क, ९ ख र १० निर्माणको चरणमा छन् ।
तर प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–बुङ्गमती खण्डमा जग्गा अधिग्रहण सम्बन्धी समस्या साथै द्रुतमार्गको सुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले खरिद प्रक्रिया सुरु हुन बाँकी रहेको सेनाले जनाएको छ ।
खोकना–बुङ्मती खण्डको मुआब्जा वितरणमा स्थानीयसँग विवाद हुँदा काम अघि बढ्न नसकेको सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताएका छन् ।
प्रवक्ता केसीका अनुसार उक्त खण्डमा पर्ने जग्गाको मुआब्जा वितरण गर्न समन्वय भइरहेको छ । साथै, जग्गा अधिग्रहण सम्बन्धी समस्या समाधानका लागि सम्भावित विकल्पको डिजाइन कार्य अगाडि बढिरहेको छ ।
२०८१ चैत १९ गते बुङ्गमती इलाकामा पर्ने बोसी खान्की गुठीको १०–०–०–१.०६ रोपनी क्षेत्रफल जग्गा आयोजनाको प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा प्राप्त भएको छ । हालसम्म स्वीकृत डीपीआर बमोजिम खोकना–बुङ्गमती इलाकामा मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी जग्गा १७८–९–०–१.७५ तथा मूल्य निर्धारण हुन बाँकी जग्गा १६५–६–०–३ रोपनी रहेको छ ।
आयोजना अन्तर्गतका जम्मा ७ वटा सुरुङ्गमार्गको कुल लम्बाइ १०.९७९ किलोमिटर छ । यसमध्ये कुल ३ हजार ३५५ मिटर लम्बाइ रहेको महादेवटार सुरुङको बायाँ टनेल ६८ प्रतिशत खन्ने कार्य सम्पन्न भएको छ । यो टनेल ३ हजार ३८६ मिटरमध्ये २ हजार २८८ मिटर खन्ने कार्य सम्पन्न भएको हो ।
दोस्रो धेद्रे सुरुङ दायाँबायाँ टनेल ब्रेक थ्रु भएको छ । कुल लम्बाइ १ हजार ६९१ मिटर रहेकोमा दायाँ १ हजार ६५३ मिटर छ भने बायाँ १ हजार ७२८ मिटर लम्बाइ छ ।
त्यसैगरी लेनडाँडा सुरुङको पनि दुवै टनेलको ब्रेक थ्रु भइसकेको छ । कुल १ हजार ६२६ मिटर लम्बाइ रहेको यो सुरुङमा १ हजार ६३३ मिटरको बायाँ र १ हजार ६३३ मिटर लम्बाइको दायाँ टनेल छ ।
देवीचौर सुरुङ (कुल १००० मिटर) र सिसौटार (३९० मिटर) खरिद सम्झौता तथा डिजाइन सम्पन्न भई निर्माण कार्य भइरहेको सेनाले जनाएको छ ।
कुल २ हजार २५० मिटर लम्बाइको चन्द्राम भीर सुरुङ ९१.०३ मिटर खन्ने कार्य सम्पन्न भएको छ । कुल लम्बाइ ५८३ मिटरको मौरी भीर सुरुङ डिजाइन स्वीकृत भई निर्माण सुरु हुने चरणमा छ । यो सुरुङ ०८१ कार्तिक २५ गते बसेको मन्त्रिपरिषद्को निर्णयबमोजिम स्वीकृत भएको थियो ।
























