जेठ १५ भित्र पुल बनाउन ठेकेदारलाई सांसद श्रेष्ठको निर्देशन
नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले १५ जेठभित्र पुल निर्माणको काम नसके ठेकेदारलाई नै खोलामा गाडिदिने धम्की दिएका छन् ।
बाराको पर्सौनी र कलैया जोड्ने बंगरी नदीको बञ्जरीया स्थित पुलको मंगलबार निरीक्षण गर्ने क्रममा उनले पुल निर्माणको जिम्मा लिएका दुई ठेकेदारलाई यस्तो धम्की दिएका हुन् ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका र पर्सौनी गाउँपालिकालाई सदरमुकाम जोड्ने महत्त्वपूर्ण मार्गमा रहेको यो पुल १३ वर्षदेखि अलपत्र छ ।
२०७९ सालको निर्वाचमा सांसद श्रेष्ठले पुल बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
सोही प्रतिबद्धता अनुसार पुल निर्माणको काम सकिए पनि पुलको दुवै तर्फ एप्रोच नबनाइकन ठेकेदार कम्पनीले अलपत्र छाडिदिएको थियो ।
एप्रोच नबनेकै कारण पुल सञ्चालनमा आउन नसक्दा त्यस क्षेत्रका सर्वसाधारणहरू आउजाउ गर्न समस्यामा थिए ।
सांसद श्रेष्ठ सडक डिभिजन कार्यालय हेटौंडाका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीसहतिको टोली लिएर मंगलबार अनुगमन गर्न बारा पुगेका थिए । सो क्रममा उनले १५ जेठभित्र आफुलाई फाइनल चाहिने बताएका छन् ।
उनले बिहानदेखि काम सुरु गर्न निर्देशन दिएका हुन । उनले भने १५ गते फिलिङ गरेर ढलान गर्ने । दुई जना ठेकेदार सुन्नुस् है फेरि, यहाँ डीजीको अगाडि बोल्या छु । इन्जिनियर पनि हुनुहुन्छ । १५ गते मलाई फाइनल चाहियो । मैले नत्र खोलामा गाड्छु ।’
























