मधेस सरकारको कामकारबाहीमा प्रश्न उठ्यो : मुख्यमन्त्री सिंह
मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिस कुमार सिंहले प्रदेशका कर्मचारीहरूमा काम गर्ने मनसाय कम देखिएको बताएका छन् ।
अर्थ मन्त्रालयको आयोजनामा राखिएको विनियोजन विधेयक २०८२ को लागि मस्यौदाका लागि सुझाव सङ्कलन कार्यक्रममा मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन ।
बिहीबार भौतिक मन्त्रालयको सभाकक्षमा आयोजित सुझाव सङ्कलनमा पछिल्लो समयमा प्रदेशका हरेक मन्त्रालयमा कार्यरत कर्मचारीहरू काम गर्ने मनसाय एकदम कम देखिएको बताएका हुन् ।
कर्मचारीहरूको ढिलासुस्तीले प्रदेश सरकारको कामकारबाहीमा प्रश्न उठिरहेकाले यो आचरणलाई तत्काल सुधार गर्न उनले निर्देशन समेत दिएका छन् ।
कार्यक्रममा सहभागी अर्थमन्त्री सुनिल यादवले कार्यविधिको कारणले बजेट खर्च हुन नसकेको प्रस्ट्याए । सबै सचिवहरूबाट प्राप्त महत्त्वपूर्ण सुझावलाई आत्मसात् गरेर कार्यविधि तयार गरिने जनाए ।
रकमान्तर, आयोजना तथा कार्यक्रमको संशोधन, एकमुष्ट विनियोजित बजेटको बाँडफाँट, नयाँ योजना तथा कार्यक्रम, बजेट निर्माण , कार्यविधि निर्माण गर्ने अधिकार, विगतको बक्यौता रकमसहितका १० वटा एजेन्डामाथि छलफल भएको थियो ।
जसमा सचिवहरूले आफ्नो राय तथा सुझाव मुख्यमन्त्री सिंहलाई टिपाएका छन् ।
कसरी विनियोजन विधेयक तयार गर्ने ? त्यसमा सङ्घीय नीतिलाई मध्यनजर गरेर जान सचिवहरूले सुझाए दिएका छन् ।
























