नेपालमा पहिलोपटक मस्तिष्कमृत व्यक्तिबाट मिर्गौला र कलेजो प्रत्यारोपण
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । यो सफलता नेपालका लागि पहिलो र विश्वमै दुर्लभ भएको चिकित्सकहरु बताउँछन् ।
संसारकै सबैभन्दा जटिल शल्यक्रियामध्येको दुवै अंग एकैसाथ प्रत्यारोपण हुने केश विरलै मात्रै हुने गरेको अस्पतालका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले बताएका छन् ।
अस्पतालका अनुसार एकजना बिरामीमा मिर्गौला र कलेजो दुवै अंग प्रत्यारोपण गरिएको छ भने अर्को मिर्गौला ४२ वर्षीया एक महिलामा प्रत्यारोपण गरिएको छ ।
अंग प्रत्यारोपण गरिएका बिरामीहरूले स्वास्थ्यलाभ गरिरहेका छन् र केही दिनमै डिस्चार्ज हुने तयारीमा रहेका श्रेष्ठले बताए ।
१ जेठमा मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट दुई मिर्गौला र एक कलेजो प्राप्त भएको थियो । काठमाडौं मेडिकल कलेजले अंग झिकेको थियो ।
प्रत्यारोपण शल्यचिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो । कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे र डा. प्रविण महर्जनले सहयोग गरेका थिए ।
मिर्गौला प्रत्यारोपणमा डा. दिपेश श्रेष्ठ, डा. रुपेश कुमार झा, डा. हरि प्रसाद बराल, डा. रोजन अधिकारी, डा. विकास खड्का लगायतले सहयोग गरेका थिए ।
एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ लगायतले सहयोग गरेका थिए ।
नेफ्रोलोजी विभागबाट डा. कल्पना कुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. विक्रमवीर बज्राचार्य लगायतका स्वास्थ्यकर्मी सहभागी भएका थिए ।
























