राजावादी प्रदर्शनमा परेका ३४ जनाविरुद्ध मुद्दा नचल्ने
१५ चैतमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा परेका १०८ जनामध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धान गरेर उनीहरुलाई मुद्दा चलाउनुपर्ने स्थिति नदेखिएको भन्दै मुद्दा नचलाउने राय सरकारी वकिलको कार्यालयमा पठाएको हो ।
१०८ जनामध्ये ९० जना पक्राउ परेका थिए भने १८ जना फरार थिए ।
उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव, संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा लगिएको छ ।
प्रहरीले अनुसन्धान सकेर गएको बिहीबार रायसहितको प्रतिवेदन बुझाएको थियो ।
त्यसको अध्ययन गरेर आइतबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरिएको सरकारी वकिलको कार्यालयका सूचना अधिकारी चन्द्रप्रसाद सञ्जेलले बताए ।
यो प्रकरणमा पक्राउ परेका राप्रपा नेता धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायत हाजिर जमानतमा छुटिसकेका छन् ।
१५ जेठमा राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा २ जनाको मृत्यु भएको थियो भने २० जनालाई प्रहरीको गोली लागेको थियो । दर्जनौं घाइते भएका थिए ।
घटनास्थलबाट भागेका प्रदर्शनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंलाई प्रहरीले भारतको आसाममा पक्राउ गरेर ल्याएको थियो ।
























