खाना पकाउने ग्यास लिक भएर आगो लाग्दा दाजु–बहिनीको मृत्यु

ए वान डेस्क
१३ जेष्ठ २०८२, सोमबार १३:४१

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, जयनगरमा एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ ।

ग्याँस लिक भएर आगो लाग्दा पर्शुराम यादवका २४ वर्षीय छोरा शिवकुमार यादव र १८ वर्षीया छोरी सोनम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।

आगोमा जलेर गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएको थियो ।

त्यहाँबाट शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुरस्थित मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै ज्यान गएको र सोनमको भैरहवामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चिकित्सकहरुका अनुसार शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएको थियो ।

सोही बेला गोठमा बलिरहेको आगोबाट भान्सा कोठामा सल्किएर ठूलो आगलागी भएको प्रहरीको भनाइ छ ।

दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*