ओली–प्रचण्ड टेलिफोन संवाद : संसद्‍को अवरोध खुलाइदिन ओलीको आग्रह

ए वान डेस्क
१५ जेष्ठ २०८२, बुधबार १३:०८

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी संसद्‍को अवरोध खुलाइदिन आग्रह गरेका छन् ।

माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी संसद् अवरोध गर्दै आएका बेला ओली र प्रचण्डबीच टेलिफोन संवाद भएको हो ।

मंगलबार माओवादीसहितका दलको अवरोधका कारण संसद् बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो । आज पनि संसद् चल्न नदिने अडानका कारण बैठक निर्धारित समयमा बस्न सकेको छैन ।

बिहीबार १५ जेठ बजेट ल्याउने दिन भएकाले प्रधानमन्त्री ओलीले प्रचण्डलाई संसद् अवरोध हटाइदिन भनेका थिए । तर प्रचण्डले बजेट ल्याउन दिने विषयमा सकारात्मक जवाफ दिएको स्रोतले बतायो ।

प्रचण्डले ओलीलाई यस विषयमा विहीबार बिहान बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी पनि गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*