बाराको जीतपुरसिमरा उपमहानगरपालिका सडकखण्डमा दुर्घटना : ३ घण्टापछि चालकको उद्धार
बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जंगलमा दुई वटा ट्रक ठोक्किँदा घाइते भएका चालकको तीन घण्टापछि उद्धार भएको छ ।
आइतबार साँझ एउटै दिशाबाट जाँदै गरेका दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । सो क्रममा स्टेरिङमा च्यापिएका चालकलाई तीन घण्टापछि ट्रकको झ्याल काटेर निकालिएको हो ।
तीन घढटापछि उद्धार गरिएका चालक चितवनको भरतपुर उपमहानगरपालिका–१६ बस्ने अन्दाजी ३५ वर्षीय अरुण श्रेष्ठ छन् ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीको कमाण्डमा खटिएको सुरक्षा फौजले उनको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।
हेटौडाबाट पथलैयातर्फ आउदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशातर्फ आउदै गरेको ना ६ ख ३७६३ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै ट्रक सडकको बायाँतर्फको साइडमा पल्टिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते भएका श्रेष्ठ ना ६ ख ३७६३ नम्बरको ट्रकको चालक हुन् । दुवै ट्रकमा चालक बाहेक अन्य कोही नरहेको बताइएको छ ।
























