समाजसेवी राजी राणाको ८६ औं जन्मोत्सवमा अपाङ्गता भएका व्यक्तिहरूलाई सामग्री वितरण
समाजसेवी राजी राणाको ८६ औं जन्मोत्सवको अवसरमा नेपाल अपाङ्ग संघ बारामा अपाङ्गता भएका व्यक्तिहरूलाई विविध सामग्री वितरण गरिएको छ।
कार्यक्रममा बहिरा तथा सुस्तश्रवण, दृष्टिबिहिन तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई एक छाक भोजनको व्यवस्था गरिनुका साथै बहिरा अपाङ्गता भएका बालबालिकालाई स्टेशनरी सामग्री, दृष्टिबिहिनहरूका लागि ब्रेल पेपर, अशक्त अपाङ्गता भएकालाई ह्वीलचेयर तथा पंखा वितरण गरिएको छ।
कार्यक्रममा संघका अध्यक्ष गंगा प्रसाद वाग्ले, शिव पौडेल, राजदास श्रेष्ठ, शंकर प्रसाद दाहाल र रमेश थापालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै शिव पौडेलले समाजसेवी राजी राणाले सिमरा क्षेत्रमा शिक्षा, स्वास्थ्य, अपाङ्गता र अन्य सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आउनुभएको बताएका छन् । उनले “राजी राणा सधैँ सहयोग गर्न तत्पर रहेको, उनीसंग सहकार्य गर्न पाउनु सुखद अनुभव हो,” भन्दै उनको दीर्घायुको कामना समेत गरेका छन्।
समाजसेवी राणाको जन्मोत्सवलाई सामाजिक उत्तरदायित्वका साथ मनाइएको यस कार्यक्रमले सहयोग र सहकार्यको सकारात्मक सन्देश फैलाएको सहभागीहरूको भनाइ छ।
























