बारामा ऐलानी जग्गा विवादमा रामएकवालमाथि कोदालो प्रहार, ७ जनाविरुद्ध उजुरी

ए वान डेस्क
१९ श्रावण २०८२, आईतवार २१:४७

बारामा ऐलानी जग्गा विवादमा घेरा हालेर एक व्यक्तिमाथि कोदालो प्रहार गरी ज्यान मार्न खोजेको दावीसहित ७ जनाविरुद्ध उजुरी परेको छ । बाराको बारागढी गाउँपालिका ३ सुन्दरपुरका ४० नन्दलाल चौधरी र २७ वर्षीय हरिन्द्र पासवानसमेतले ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका हुन् ।

बारागढी गाउँपालिका ३ नयका टोलका ४७ वर्षीय बिहारी पण्डित, ४० वर्षीय गोरख पण्डित, ६० वर्षीय ओकिल मिया, ३० वर्षीय जमिल अखतर मिया, ४१ वर्षीय शिवचन्द्र यादव, ३० वर्षीय सलाउदिन मिया र २५ वर्षीय अलाउदिन मियाविरुद्ध जाहेरी परेको हो ।

जाहेरीमा उल्लेख भएअनुसार २५ असारको दिन दिउँसो साढे १२ बजे रामएकवाल चौधरीले २० वर्षदेखि जोतभोग गर्दै आएको सुन्दरपुरस्थित ऐलानी जग्गामा पुगेका बेला जलिम अख्तर मियाले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै विवाद सुरु गरेका थिए । त्यसक्रममा जलिमले अन्यलाई बोलाएर घेरा हाले । विवादको क्रममा शिवचन्द्र यादवले रामएकवालको टाउकोमा कोदालो प्रहार गरी ज्यान लिन खोजेको जाहेरीमा उल्लेख छ । त्यस क्रममा रामएकवालका छोरा दिपेन्द्र चौधरीसमेत घाइते भएका छन् ।

रामएकवाल गम्भीर घाइते भई हाल काठमाडौंस्थित न्युरो अस्पतालमा उपचाररत छन् । उनका दाजु चन्देश्वर चौधरीका अनुसार आर्थिक अभावका कारण औषधि किन्नसमेत समस्या भइरहेको छ ।

‘प्रहरीले दुई लाख रुपैयाँ प्रतिवादीहरूसँग उठाएर उपचारमा सहयोग गर्ने भनेको थियो तर हालसम्म दिएन । यति गम्भीर घटनामा संलग्न प्रतिवादीहरू खुलेआम हिँडिरहेका छन्, तर कसैलाई पक्राउ गरिएको छैन,’ चन्देश्वरको गुनासो छ ।

बाराका प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले भने यसबारे अनभिज्ञता जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*