मधेशमा ७७ प्रतिशत धान रोपाइँ, सबैभन्दा बढी बारामा

ए वान डेस्क
२७ श्रावण २०८२, सोमबार १०:१८

खडेरीको प्रभावमा परेका मधेश प्रदेशका आठ जिल्लामा अहिलेसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ ।

मधेश प्रदेशको बारामा सबैभन्दा बढी ९५ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा कम महोत्तरीमा ६१ दशमलब ५ प्रतिशत रोपाइँ भएको छ ।

प्रदेशको कुल पाँच लाख ४२ हजार ५सय ८१ हेक्टर खेती योग्य क्षेत्रमध्ये तीन लाख ७२ हजार ६ सय ४५ हेक्टरमा धान रोपाइँ हुने गरेकामा अहिलेसम्म दुई लाख ८५ हजार ३ सय ३५ हेक्टरमा रोपाइँ भएको हो ।

यादवका अनुसार मधेशमा पर्याप्त वर्षा नभए पनि बोरिङको माध्यमबाट रोपाइँको क्षेत्रफल बढेको छ ।

बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी, सर्लाही र रौतहटमा बागमतीबाट किसानले सिँचाइ गरेर धान रोप्दा केही सहज भएको छ । तर, धनुषामा कमला नदी सुक्दा समस्या भएको हो ।

यस वर्ष मधेशमा बढीमा ८० प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको छ । ढिलो रोपाइँका कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताउनुभयो ।

सुक्खा र खडेरी प्रभावित क्षेत्रका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रमअन्तर्गत प्रदेश सरकारले किसानलाई तत्काल राहत दिने घोषणा गरेपछि प्रदेशभरका २२ हजार ५२ किसानले आवेदन दिएका छन् ।

मधेश प्रदेश सरकारले किसानलाई सहयोगका लागि १८ करोड बजेट विनियोजन गरे पनि पर्याप्त नभएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनुभयो ।

सिँचाइ व्यवस्थापन सहयोगका लागि मधेश प्रदेश सरकार सङ्घीय सरकारको निर्णयको पर्खाइमा रहेको उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*