रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभाको बैठक बहिस्कार

ए वान डेस्क
२८ श्रावण २०८२, मंगलवार १४:१५
काठमाडौँ, ६ असारः नयाँ बानेश्वरस्थित सङ्घीय प्रतिनिधिसभा भवनमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठक सुरू हुनासाथ विपक्षी दलका सांसदहरू आआफ्नो ठाउँमा उभिएर विरोध गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।
त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद शिशिर खनाललाई बोल्न दिएका थिए ।
उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताए । उनले मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएको भन्दै छानबिन गर्न माग गरे ।

त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद विना लामालाई बोल्ने समय दिए ।
उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए ।
उनले आफूहरूले संसद् बैठक बहिस्कार गर्ने र बहिस्कार गर्ने दिनको भत्ता पनि नलिने बताए ।

दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।

भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा गत जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*