पर्सामा कालोबजारीका लागि लुकाइएको सरकारी मल फेला

ए वान डेस्क
३० श्रावण २०८२, बिहीबार १५:१३

पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ कटेया गाउँमा प्रहरीले छापा मारेर १९१ बोरा सरकारी अनुदानको रासायनिक मल बरामद गरेको छ। बरामद मल साह महमद अन्सारी र युनुस अन्सारीको घरबाट फेला परेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत किसानलाई वितरणका लागि पठाइएको मल महँगो मूल्यमा बिक्री गर्ने उद्देश्यले अवैध रूपमा भण्डारण गरिएको सूचनाका आधारमा कारबाही गरिएको हो ।

साह महमद अन्सारीको घरबाट डिएपी ९ बोरा, पोटास १८ बोरा र फस्फोट ११४ बोरा बरामद गरिएको छ भने युनुस अन्सारीको घरबाट डिएपी २७ बोरा र पोटास २३ बोरा फेला परेको छ। बरामद सबै मल जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रजिअ अर्यालले जानकारी दिए ।

अनुगमन टोलीमा साल्ट ट्रेडिङ, कृषि सामग्री कम्पनी, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि सहभागी थिए । प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार दुवै घरका मालिक फरार छन् र उनीहरूको खोजी कार्य जारी छ ।

हाल पर्सामा धानबालीका लागि मलको चरम अभाव रहेको बेला सरकारी अनुदानको मल कालोबजारी हुने क्रम बढेको छ । मल वितरणमा अनियमितता रोक्नका लागि केही दिनअघि प्रजिअ अर्यालले जिल्लाका मल वितरक कृषि सहकारी संस्थाका सञ्चालक, स्थानीय तहका उपप्रमुख र कृषि शाखा प्रमुखलाई निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार बुधबारदेखि सुरु गरिएको अनुगमनकै क्रममा उक्त मल बरामद भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*