वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयता

नेकपा (एकीकृत समाजवादी)को सातौँ सचिवालय बैठकले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयताको जिम्मेवारी दिएको छ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न सातौँ सचिवालय बैठकले अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि नेता गौतमलाई वरीयता तोकिएको हो ।
पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाकाअनुसार वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराएका छन् ।
राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा समाहित भएका नेताहरूलाई जिम्मेवारी दिइएको प्रमुख ज्वालाले जानकारी दिए ।
ज्वालाका अनुसार डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्यको जिम्मेवारी दिइएको छ।
त्यस्तै केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहम्मद शेर वागवानलाई रहेका छन् ।