पत्रकार शाह स्व.सुबोध स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

ए वान डेस्क
१ भाद्र २०८२, आईतवार १४:५५

पत्रकार क्रान्ति शाहलाई ‘स्व. सुबोध स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले स्थापना गरेको ५१ हजार रुपैयाँ राशीको पुरस्कार आइतबार शाहलाई दिइएको हो ।

प्रतीक दैनिक पत्रिकाको ३९ औं वार्षिकोत्सव समारोहमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले शाहलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका हुन्। प्रतीक प्रकाशन समूहले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष सक्रिय पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ ।

गत साउन १७ गते बसेको समूहको बैठकले यस वर्षका लागि शाहलाई चयन गरेको हो ।

शाह मधेस खबरका संचालक तथा अन्नपूर्ण पोष्टका पर्सा संवाददाता हुन् ।

कार्यक्रममा प्रतीक दैनिकका उत्कृष्ट संवाददाताका रूपमा प्रमोद यादवलाई १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

यसैगरी उत्कृष्ट स्तम्भकारका रूपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललाई १० हजार रुपैयाँ, स्व. चिरञ्जीवी कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट युवा पत्रकार सूर्यनारायण विकलाई १५ हजार रुपैयाँसहित सम्मानित गरिएको छ ।

समारोहमा प्रतीक दैनिकका कर्मचारी श्यामजी प्रसाद गुप्तालाई ५ हजार रुपैयाँ र स्तम्भकार अनन्तलाल दासलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रम प्रतीक प्रकाशन समूहकी अध्यक्ष विन्दु शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा मेयर राजेशमान सिंह प्रमुख अतिथि थिए भने प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरि गौतम, बार एशोसियसनका अध्यक्ष रामनारायण कुर्मीलगायतको उपस्थिति थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*