जीतपुरसिमरा अन्र्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी तिब्र
ए वान डेस्क /
जीतपुरसिमरा अन्र्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता २०८२ को तयारी तिब्र रुपमा भईरहेको छ । आयोजक सिमरा भेट्रान क्लबका अनुसार भदौ २१ गतेदेखि शुरु हुने प्रतियोगिताको तयारी तिब्र रुपमा भईरहेको हो ।
भदौ २८ गतेसम्म सिमरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहनेछ । आयोजक क्लबका अध्यक्ष राजकपुर राउत विजयले प्रतियोगिताको तयारी धमाधम भईरहेको बताउनुभयो ।
`हामी अहिले फिल्ड व्यवस्थापन लगायतको काम धमाधम गरिरहेका छौ, हामीले गर्नुपर्ने आन्तरीक कामपनि तिब्र रुपमा भईरहेको छ’ अध्यक्ष राउतले भन्नुभयो । रातिको समयमा फ्लड लाईटमा खेलाईने प्रतियोगितामा छिमेकी देश भारतको समेत सहभागिता रहनेछ ।
भारतसहित ८ वटा टिमको सहभागिता रहने प्रतियोगिताको बिजेताले नगद ५ लाख रुपैया र उप बिजेताले २ लाख ५० हजार रुपैया पाउनेछन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, दार्जिलिङको कुरुसङ गल्स फुटबल एकेडेमी र आयोजक क्लबको सहभागिता रहने क्लबका सचिव हरि चौधरीले जानकारी दिनुभयो ।
सचिव चौधरीका अनुसार प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ तथा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । महिला फुटबलको विकास र प्रवर्द्धनका लागि यसपटकदेखि महिला फुटबल प्रतियोगिता सुरु गर्न लागेको सिमरा भेट्रान क्लबले प्रतियोगितालाई नियमित रुपमा आयोजना गर्ने बताएको छ ।
























