वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
आइतबार मन्त्रालयमा भएको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक परे परिचालित हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
चिकित्सकसहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन निर्देशन भएको बैठकपछि गृहका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले बताए । सोही अनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेको छ ।
बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी सहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधी सहभागी थिए ।
वीरगञ्जमा शुकबार यता ४४ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ ।
वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत १२९ जना बिरामीमध्ये ४४ जनामा हैजा संक्रमण पुष्टि भएको हो ।
झाडापखलाको लक्षण देखा परेर उपचार गराउन आएका दुई व्यक्तिको मृत्युसमेत भइसकेको छ । तर उनीहरूमा हैजाको संक्रमण भने पुष्टि भएको छैन ।
खानेपानी पाइपमा ढलको दूषित पानी मिसिँदा हैजा फैलिएको आशंका विज्ञहरूले गरेका छन् ।
























