पूर्वाधार विकासमा फड्को मार्दै प्रदेश सरकार

ए वान डेस्क
१५ भाद्र २०८२, आईतवार १२:५३

आर्थिक वर्ष २०८१र८२ मधेश प्रदेश पूर्वाधार विकासको उपलब्धिमूलक वर्ष बनेको छ।

जनताको जीवनस्तर सुधार र प्रदेशको दिगो समृद्धिलाई गतिशील बनाउन सरकारद्वारा सञ्चालित विभिन्न योजनाले ऐतिहासिक फड्को मारेको छ।
यो अवधिमा प्रदेश सरकारले ४ सय ६ किलोमिटर ग्राभेल सडक, २ सय ५३ किलोमिटर ढलान सडक र ८४ किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न गरेको छ।

साथै १ सय १० वटा कल्भट र ६ वटा पक्की पुल निर्माण गरी सञ्चालनमा ल्याइएको भौतिक पुर्वाधार विकास मन्त्री सरोज कुमार यादवले बताएका छन् ।

यस्तै ७७ किलोमिटर नयाँ सडक समेत निर्माण भएको छ।
योजनाबद्ध पूर्वाधार विस्तारका लागि सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना स्वीकृत गरेको छ भने सडक तथा पुल सम्बन्धी डिजाइन, स्ट्यान्डर्ड, स्पेसिफिकेशन तथा मापदण्ड पारित गरेको छ।
जनतामुखी कार्यक्रम अन्तर्गत सञ्चालित ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अभियानको दोस्रो चरणमा ३२० किलोमिटर लम्बाइका ६४ सडक निर्माण थालिएको छ।

त्यस्तै, ‘एक निर्वाचन क्षेत्र, एक पक्की पुल’ कार्यक्रमअन्तर्गत ६४ पुल निर्माणको तयारी भइरहेको मन्त्री यादवले जानकारी दिएका हुन् ।

आवास क्षेत्रमा पनि सरकारले ठोस परिणाम ल्याएको छ। मदन भण्डारी आवास, जनता आवास र महेन्द्रनारायण निधी आवास कार्यक्रम अन्तर्गत आर्थिक वर्षमै १ हजार ५७ आवास निर्माण सम्पन्न भएका छन् भने थप ४ हजार भन्दा बढी आवास निर्माणाधीन छन्।

यस्तै, सामुदायिक भवन, धर्मशाला, सरकारी भवन र सभाहल गरी २ सय ७ वटा संरचना निर्माण सम्पन्न भएका छन्।
सो वर्षकै अवधिमा सम्पूरक अनुदान अन्तर्गत ७ सडक, प्रादेशिक सडक अन्तर्गत ३५ सडक र प्रादेशिक पुल अन्तर्गत १४ पुल निर्माणाधीन रहेका छन्।
त्यसैगरी, प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (PLRIP) अन्तर्गत २१ वटा स्थानीय तहलाई पक्की सडक सञ्जालसँग जोड्ने काम भइरहेको छ। हालसम्म १ सय ५० किलोमिटर पक्की सडक मर्मत र १२ सय किलोमिटर सडकको नियमित मर्मत सम्पन्न भएको छ।

यसैबीच प्रदेश सरकारले रामजानकी बहुउद्देश्यीय रंगशालाका लागि जग्गा सम्झौता र गुरुयोजना तयार पारिसकेको छ भने बजेट व्यवस्थापन प्रक्रिया समेत प्रारम्भ भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*