बारा जिल्लाको जनजीवन क्रमशः सामान्य बन्दै

बारा जिल्लाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।
अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले बारा जिल्ला सहित देशभर नै जनजीवन सामान्य बन्दै गएको हो ।
आन्दोलनरत जेनजी पुस्ताका प्रतिनिधिहरु वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा रहेका छन् । विभिन्न सङ्घ–सङ्गठनहरुले समस्याको समाधान निकाल्न आह्वान गरिरहेका छन् ।
सेनाले पनि निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गरी जानकारी दिएको छ ।
बारा जिल्ला लगाएत अन्यजिल्लाहरुमा अहिले नेपाली सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायसँगको समन्वयमा शान्तिसुरक्षा प्रभावकारी बनाइएको छ ।
अत्यावश्यक कामका लागि हिँड्डुलमा कुनै समस्या देखिएको छैन ।
अत्यावश्यक सेवाका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारीसाधनहरू सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ ।
उक्त समयमा सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने छन् ।