फेला परेकी नाबालिका सम्बन्धी प्रमाणसहित हक दाबी गर्न उपमहानगरपालिकाको आग्रह

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ , मगर टोलमा असोज १६ गते राति करिब ११ बजे बेवारिसे अवस्थामा एक नाबालिका फेला परेकी छिन्।
नाम, थर र वतन नखुलेकी अन्दाजी एक वर्ष उमेरकी ती नाबालिका हाल जीतपुरसिमरा उपमहानगरपालिकाको प्रत्यक्ष निगरानीमा न्यायिक समिति सदस्य सिता उप्रेतीको अस्थायी संरक्षणमा राखिएको जनाइएको छ।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा नाबालिकाको जैविक अभिभावकलाई प्रमाणसहित हक दाबी गर्न आग्रह गरिएको छ।
नाता प्रमाणित हुने यथेष्ट कागजातसहित ३० (तिस) दिनभित्र उपमहानगरपालिकाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
सूचना अनुसार, तोकिएको समयसीमा भित्र हक दाबी नआएमा सम्बन्धित कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।