जेन–जी आन्दोलन छानबिन : आयोगले प्रहरी बयानलाई तीव्रता दियो, विवरण फिर्ता पठाउन २४ घण्टे अल्टिमेटम
भदौ २३ र २४ गते राजधानीमा भएको जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले सुरक्षाकर्मीको बयान प्रक्रिया तीव्र पारेको छ । आयोगले आन्दोलनका दिन माइतीघर मण्डलदेखि तीनकुनेसम्म र अन्य संवेदनशील स्थानहरूमा खटिएका प्रहरी जवानदेखि अधिकृतसम्मका बयान लिन सुरु गर्ने तयारी गरेको छ ।
आयोगले यसअघि प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी ती दुई दिनमा फिल्डमा खटिएका सबै सुरक्षाकर्मीको नाम, पद, खटाइको स्थान र जिम्मेवारीअनुसारको तहगत विवरण उपलब्ध गराउन माग गरेको थियो । त्यसअनुसार ‘२३ गते कसले गोली चलायो ? आदेश कसले दियो ? किन चलाइयो ?’ जस्ता प्रमुख प्रश्नहरू अध्ययनका लागि पठाइएको पत्रमा समावेश गरिएको थियो ।
तर प्रहरी प्रधान कार्यालयले आयोगलाई पठाएको प्रारम्भिक जवाफमा “जेन–जी आन्दोलनका समयमा प्रहरी महानिरीक्षकदेखि सामान्य जवानसम्म सबै फिल्डमै खटिएका थिए” भन्ने सामान्य विवरण मात्र उपलब्ध गराएको थियो ।
आयोगले प्रहरीको यस्तो उत्तरलाई अपूरो ठहर गर्दै आइतबार पुनः पत्र पठाई २४ घण्टाभित्र पूर्ण विवरण पेस गर्न निर्देशन दिएको हो । आयोगका अनुसार आन्दोलनका दुई दिन — २३ र २४ भदौ — का घटनाको प्रकृति र खटाइको स्थान फरक भएकाले त्यसअनुसार फरक–फरक नाम, समय र स्थानसहितको विवरण आवश्यक रहेको स्पष्ट गरिएको छ ।
“माइतीघर मण्डलदेखि तीनकुनेसम्म खटिएका प्रहरी र अन्य ठाउँमा रहेका सुरक्षाकर्मीहरूको अवस्थामध्ये भिन्नता भएकाले सबैको जिम्मेवारी स्पष्ट हुनुपर्छ,” आयोग स्रोतले भन्यो, “प्रहरीले सोमबारसम्म विवरण उपलब्ध गराएपछि क्रमशः बयान प्रक्रिया सुरु हुनेछ ।”
आयोगले घटनाका प्रत्यक्ष संलग्न प्रहरीहरूका साथै आदेश दिने तहका अधिकृतहरूको पनि बयान लिने कार्यतालिका तय गरेको जनाएको छ । आयोगले यसअघि नै आन्दोलनका क्रममा मृत्यु र घाइते भएका नागरिक, उद्धार टोली, स्वास्थ्यकर्मी र प्रत्यक्षदर्शीको पनि बयान लिन तयारी गरिरहेको जनाएको छ ।

























