सिमरा-डुमरवाना अन्तरविद्यालय फुटबल प्रतियोगिता : उपाधी सिमरा पब्लिक र मिसन एकेडेमीले उचाल्यो उपाधी
बाराको सिमरामा जारी सिमरा-डुमरवाना अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि सिमरा पब्लिक इङ्लिस स्कुल र मिसन एकेडेमीले जितेको छ ।
सिमरा रंगशालामा बुधबार भएको खेलमा सिनियरतर्फको उपाधि सिमरा पब्लिक र जुनियरतर्फको उपाधि मिसन एकेडेमीले उचालेको हो ।
सिनियरतर्फ सिमरा पब्लिकले मिसन एकेडेमीलाई १–० ले पराजित गर्दै उपाधि उचालेको हो । सिमरा पब्लिकका लागि कप्तान सुमन साहले निर्णायक गोल गरेका थिए ।
जुनियरतर्फ मिसन एकेडेमीले स्नो एपेक्स एकेडेमीलाई २–० ले पराजित गरेको हो । मिसन एकेडेमीका लागि राजदीप धामी र सन्देश चौधरीले गोल गरेका थिए ।
मंसिर २ गतेदेखि सुरु भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिनियरतर्फ सिमरा पब्लिकका सुजन घलान र जुनियरतर्फ मिसन एकेडेमीका राजदीप धामी घोषित भए । यसैगरी सर्वाधिक गोलकर्ता सिनियरतर्फ चार गोल गरेका सिमरा पब्लिकका कप्तान सुमन साह र जुनियरतर्फ पाँच गोल गरेका स्नो एपेक्सका रोशन साह घोषित भएका छन् ।
उत्कृष्ट गोलरक्षकको उपाधि भने सिनियरतर्फ सिमरा पब्लिकका मनिष खनाल र जुनियरतर्फ पाथीभरा इङ्लिस एकेडेमीका विश्वास पराजुलीले हात पारे । फाइनल खेलको प्लेयर अफ दि म्याच सिनियरतर्फ मिसन एकेडेमीका प्रिन्स थापामगर र जुनियरतर्फ मिसन एकेडेमीकै सन्देश यादव घोषित भएका छन् ।
उपाधि विजेता तथा उपविजेता खेलाडीलाई बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा, सिमरा कलेजका सहप्राध्यापक शालिकराम अधिकारी, एकता स्कुलका प्रध्यानाध्यापक मदन रिजाल, सिमरा डुमरवाना हबका संयोजक बसन्त ढकाललगायतले पुरस्कार वितरण गरेका थिए ।
सिमरा डुमरवाना हबद्धारा आयोजित प्रतियोगितामा १२ विद्यालयको सहभागिता रहेको थियो । सिमरा र डुमरवाना क्षेत्रमा रहेका १२ निजी विद्यालयले सिमरा-डुमरवाना हब गठन गरी खेलकुद, शिक्षालगायतको क्षेत्रमा विभिन्न रचनात्मक गतिविधि गर्दै आएका छन् ।























