संशोधित नागरिकता ऐन कार्यान्वयन : जीतपुरसिमरा उपमहानगरद्वारा वडालाई निर्देशन

ए वान डेस्क
१० माघ २०८२, शुक्रबार १४:४३

जीतपुरसिमरा उपमहानगरपालिकाले संशोधित नेपाल नागरिकता ऐन तथा नियमावलीअनुसार नागरिकता सिफारिस प्रक्रिया कडाइका साथ लागू गर्न सबै वडा कार्यालयहरूलाई निर्देशन दिएको छ।
नगर कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रअनुसार नेपाल नागरिकता ऐन, २०६३ (दोस्रो संशोधन) तथा नेपाल नागरिकता नियमावली, २०६३ (चौथो संशोधन) कार्यान्वयनमा आइसकेको हुँदा सोही बमोजिम नागरिकता सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको पत्र तथा गृह मन्त्रालयको निर्देशनलाई आधार मानी उक्त निर्देशन जारी गरिएको नगरपालिकाले जनाएको छ।
पत्रमा नागरिकता नियमावली, २०६३ (चौथो संशोधन) अनुसार तयार गरिएका नयाँ अनुसूची फारामहरू प्रयोग गरी मात्र नागरिकता सिफारिस गर्न अनुरोध गरिएको छ। साथै नागरिकता सिफारिस गर्दा आवश्यक सम्पूर्ण कागजात पूरा भएको, विवरण यथार्थ, पूर्ण र प्रमाणित भएको सुनिश्चित गरी मात्र सिफारिस पठाउन वडाहरूलाई सचेत गराइएको छ।
त्यसैगरी नागरिकता सम्बन्धी सम्पूर्ण विवरणहरू CCIMS प्रणाली (नागरिकता सूचना व्यवस्थापन प्रणाली) मा अद्यावधिक गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा रहेको उल्लेख गर्दै प्रणाली पूर्ण रूपमा अद्यावधिक नभएसम्म हाल प्रयोगमा रहेका अनुसूची फाराममार्फत नागरिकता वितरण गर्न सकिने जानकारी पनि दिइएको छ।
नगरपालिकाले CCIMS प्रणालीमा विवरण अद्यावधिक भएपछि यस अवधिमा भएका नागरिकता सिफारिसहरूको छुट्टै अभिलेख सुरक्षित राख्नसमेत निर्देशन दिएको छ। यसले भविष्यमा नागरिकता विवरणको प्रमाणीकरण तथा अभिलेखीकरणलाई सहज बनाउने अपेक्षा गरिएको छ।
नगरपालिकाले संशोधित कानुनी व्यवस्थाअनुसार पारदर्शी, व्यवस्थित र प्रमाणमा आधारित नागरिकता सिफारिस प्रक्रिया अपनाउन सबै वडा कार्यालयहरूलाई सहयोगात्मक भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*