बारा : सवारी दुर्घटनामा एक जनाको मृत्यु
बाराको प्रसौनी गाउँपालिका २ अन्तर्गत दुधौरा पुल नजिक आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
कलैया उपमहानगरपालिका ३ का २० वर्षीय आयुष गुप्ताको मृत्यु भएको हो ।
वीरगन्जबाट कलैयातर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ४१०२ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको म.प्र.०३–०२७प ७८२९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटर चालक गुप्ता गम्भीर घाइते भएका थिए।
उनको टाउकोमा गम्भीर चोट लागेको थियो। स्कुटरको पछाडि सवार वीरगन्ज महानगरपालिका १० घडीहर्वाका मौसम कुमार साहको दाहिने हात र ढाडमा चोट लागेको छ।
दुवै घाइतेलाई उपचारका लागि एलएस न्युरो अस्पताल परवानीपुर पठाइएको थियो। तर उपचारकै क्रममा बिहान करिब ८ बजे गुप्ताको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको हो।
प्रहरीले दुर्घटनामा संलग्न ट्रकलाई कलैयाको हनुमान चोकबाट नियन्त्रणमा लिएको छ।
साथै ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका २ चौधरी टोल निवासी २४ वर्षीय दिपेश चौधरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बारा कलैयामा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























