जीतपुरसिमरा उपमहानगरपालिकाद्धारा आधारभूत तहको वार्षिक परीक्षा तालिका सार्वजनिक
जीतपुरसिमरा उपमहानगरपालिकाले आधारभूत तह (कक्षा ८) को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ।
उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै कक्षा ८ सञ्चालन गरिरहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई परीक्षा तालिकाबारे जानकारी गराएको हो।
उपमहानगरपालिकाको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार परीक्षा सञ्चालन गर्न लागिएको छ।
सार्वजनिक गरिएको तालिकाअनुसार कक्षा ८ को वार्षिक परीक्षा २०८२ साल चैत्र १० गतेदेखि चैत्र १८ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा प्रत्येक दिन बिहान ८ बजेदेखि सुरु हुने सूचनामा उल्लेख गरिएको छ।
परीक्षा तालिकाअनुसार पहिलो दिन चैत्र १० गते मंगलबार अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन ११ गते बुधबार अनिवार्य नेपाली, तेस्रो दिन बिहिबार विज्ञान तथा प्रविधि, चौथो दिन चैत्र १५ गते आइतबार सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, पाँचौँ दिन चैत्र १६ गते सोमबार स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला, छैटौँ दिन चैत्र १७ गते मंगलबार अनिवार्य गणित र अन्तिम दिन चैत्र १८ गते बुधबार हाम्रो जीतपुरसिमरा विषयको परीक्षा सञ्चालन हुनेछ।
नगर कार्यपालिकाको कार्यालयले सम्बन्धित सबै विद्यालयहरूलाई परीक्षा व्यवस्थापन, अनुशासन र मर्यादालाई विशेष ध्यान दिँदै परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।
उपमहानगरपालिकाले परीक्षा सफल र मर्यादित रूपमा सम्पन्न गर्न विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तथा अभिभावक सबैको सहकार्यको अपेक्षा गरेको छ।























