ओली पक्राउप्रति एमाले जितपुरसिमरा नगर कमिटीको आपत्ति, तत्काल रिहाइको माग
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति नेकपा एमाले जीतपुरसिमरा नगर कमिटिले कडा आपत्ति जनाएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका नगर कमिटीले एक विज्ञप्ति जारी गर्दै उक्त गिरफ्तारीलाई ‘प्रतिशोधपूर्ण’ र ‘पूर्वाग्रहपूर्ण’ कदम भएको आरोप लगाएको छ।
नगर कमिटीका अध्यक्ष त्रिलोक शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा, भदौ २३ र २४ गते भएको जेञ्जी आन्दोलन सम्बन्धी घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक नभइसकेको अवस्थामा गरिएको पक्राउले कानुनी प्रक्रिया र विधिको उपहास गरेको उल्लेख गरिएको छ।
एमालेले गैरकानुनी रूपमा पक्राउ पूर्जी जारी गरिएको दाबी गर्दै यस कदमले मुलुकलाई समाधानतर्फ नभई थप द्वन्द्वतर्फ धकेल्ने चेतावनी दिएको छ।
त्यस्तै, विज्ञप्तिमा गैरसंवैधानिक, गैरराजनीतिक र प्रतिशोधपूर्ण ढंगबाट गरिएको भनिएको उक्त पक्राउको कडा निन्दा र भत्सना गर्दै, अध्यक्ष ओलीलाई अविलम्ब रिहा गर्न जोडदार माग गरिएको छ।
एमाले जितपुरसिमरा नगर कमिटीले सरकारलाई कानुनी राज्यको मर्मअनुसार अघि बढ्न आग्रह समेत गरेको छ।















