अनुहार हेरेर अपराधी पत्ता लगाउने रोबोट बन्यो

प्रहरीले केरकार गर्दा अपराधी झूटो बोलिरहेको छ कि सत्य भन्ने कुरा अब रोबोटले अपराधीको अनुहारको भावभंगिमा हेरेर थाहा पाउने भएको छ ।
लन्डनको स्टार्टअप फेससफ्टले कृत्रिम प्रज्ञायुक्त सिस्टम तयार पारेको छ । त्यस सिस्टमले अनुहारमा आएका भाव पढेर सत्य र झूटोको पहिचान गर्नेछ ।
यसको परीक्षण बेलायती प्रहरीले गरिरहेको छ । सिस्टममा ३० करोडभन्दा बढी अनुहारका भावलाई संलग्न गरिएको छ ।
फेससफ्टका अनुसार, मानिसको दिमागमा चलिरहेको कुराको जानकारी अनुहारमा भएका माइक्रोएक्सप्रेसनले दिन्छ ।
मनोवैज्ञानिकहरूले सन् १९६० मा पहिलोपटक अनुहारको भाव पढ्न सकिने कुरा पत्ता लगाएका थिए । आत्महत्याको कोशिश गर्ने मानसिक रोगीहरूले दिमागमा चलिरहेको नकारात्मक विचार लुकाइरहेको उनीहरूले पाएका थिए ।
फेससफ्टका संस्थापक डा पोनिआह भन्छन्, ‘कुनै मानिस जबर्जस्ती मुस्काउँछ भने पनि खुशीको भाव उसको आँखामा आउँदैन । यो एक किसिमको माइक्रोएक्सप्रेसन हो ।’
इम्पिरियल कलेज लन्डनका एआई विज्ञ स्टेफिनोजका अनुसार, केरकारका बेलामा अपराधीको अनुहारमा देखिने अस्वाभाविक भावलाई रेकर्ड गरिनेछ । त्यसपछि मनोवैज्ञानिकहरूले त्यसको विश्लेषण गर्नेछन् ।
एआई सिस्टममा एल्गोरिदम डेटाबेससँग ३० करोड भन्दा बढी अनुहारका भाव भण्डारण गरिएको छ । तिनमा हरेक उमेर र लिंगका तस्वीर छन् । खुशी, डर र आश्चर्य जस्ता भाव यिनमा समाविष्ट छन् । ती भावहरू अनुहारमा कम वा धेर कति देखिएका छन् भन्ने जानकारी पनि एआई सिस्टमले दिनेछ ।
एजेन्सी