कोन्टिन्होको ह्याट्रिक, ७–० ले जितेको लिभरपुल पुग्यो अन्तिम १६ मा

इंग्लिस क्लब लिभरपुल शानदार जितका साथ च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले स्पार्टक मस्कोलाई ७–० ले हराउँदै अघिल्लो चरणमा स्थान पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन फिलिप कोन्टिन्होले ह्याट्रिक गरे । उनले चौथो मिनोटमा पाएको पेनाल्टीबाट गोलको खाता खोलेका हुन् । यस्तै १५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेको कोन्टिन्होले ५० औं मिनेटमा गोल गदैं ह्याट्रिक पूरा गरे । उनले ह्याट्रिक गर्नुअघि रोबर्छो फिर्मिनोले १८ औं तथा साडिओ मानेले ४७ औं मिनेटमा गोल गरेका थिए ।
मानेले ७६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ६–० को अग्रता लियो । ८६ औं मिनेटमा मोहमद सालहले गोल गर्दै लिभरपुललाई ७–० को जित दिलाए । शानदार जित दर्ता गरेको लिभरपुल समूह इ को विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । उसको ६ खेलबाट १२ अंक भएको छ ।
यस्तै राति नै भएको खेलमा एनके मारिबोरसँग १–१ को बराबरीमा रोकिएको स्पेनिस क्लब सेभिल्ला समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । सेभिल्लाको ९ अंक भएको छ ।