होलीमा नियम मिच्ने पाँचसय जना र १ हजार १०३ सवारी प्रहरी नियन्त्रणमा

होलीमा जथाभावी गर्ने ३५० जनालाई काठमाडौं उपत्यकाबाट प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै, १ हजार १०३ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंका विभिन्न ठाउँबाट होलीमा जथाभावी क्रियाकलाप गर्ने ४२५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ४२१ पुरुष र चार महिला रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।
ललितपुरबाट १९, भक्तपुरबाट ५७ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये केहीलाई छोडसकिएको र बाँकीलाई कानुनअनुसार हेरेर कारबाही गर्ने पोखरेलले जानकारी दिए। त्यस्तै, बुधबार होलीको अवसर पारेर ट्राफिक नियम विपरित चलाइएका १ हजार १०३ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको हो। त्यसमध्ये ८३ वटा सवारी साधन मादक पदार्थ सेवन गरेर चलाइएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता मुकुन्द मरासिनीका अनुसार नियन्त्रणमा लिइएको सवारी साधनलाई साँझ ६ बजेबाट फिर्ता गर्न थालिएको छ। यस वर्ष होलीमा अप्रिय घटना भने नभएको पनि प्रहरीले जनाएको छ। १ जना गम्भिर घाइते हुनेबाहेक अन्य कुनै अप्रिय घटना नभएको पनि प्रवक्ता मरासिनीले जानकारी दिए। नियन्त्रणमा लिएका सवारी धनीलाई भने यातायात व्यवस्था ऐन अनुसार कारबाही हुने मरासिनीले जानकारी दिए। हानगरीय ट्राफिक प्रहरी महाशाखाले बेलुका पनि अप्रिय घटना हुनसक्ने भन्दै सवारी साधन चेकजाँचको कामलाई कडाइ गरेको छ।
बेलुका मादक पदार्थ सेवन गरेर हुन सक्ने दुर्घटनालाई मध्यनजर राखेर चेकजाँचमा कडाइ गरिएको पनि प्रवक्ता मरासिनीले स्पष्ट पारे। गत वर्ष भन्दा यस वर्ष होलीमा सवारी दुर्घटना कम भएको महाशाखाले जनाएको छ। महाशाखाले होलीमा सवारी दुर्घटना हुन नदिन बिहान ६ बजेबाटै देशभर सवारी साधनको चेकजाँचलाई कडा पारेको थियो।