भागबण्डा पुर्याउन तीन मन्त्रालय थपियो, को को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन मन्त्रालय थप गर्नुभएको छ । यसअघि मन्त्रीपरिषदबाट प्रधानमन्त्री कार्यालय सहित १८ मन्त्रालय मात्र राख्ने निर्णय गराएका प्रधानमन्त्री ओलीले आज ३ वटा मन्त्रालय थप गरि मन्त्रालयको संख्या २१ पुर्याउने निर्णय गर्नुभएको हो ।
प्रधानमन्त्री ओली सत्तारुढ दल माओवादीसँगको छलफलपछि मन्त्रालयको संख्या थप गर्ने निर्णयमा पुग्नुभएको हो । यसअघि शिक्षा युवा तथा खेलकुद र विज्ञान प्रविधी एउटै मन्त्रालय रहेकोमा अब शिक्षा र विज्ञान तथा प्रविधी एउटा तथा युवा तथा खेलकुद मन्त्रालय बेग्लै बन्ने भएको छ ।
यस्तै, यसअघि एकै बनाइएका महिला बालबालिका तथा समाज कल्याण र श्रम मन्त्रालयबाट श्रम लाई अलग्गै बनाइने भएको छ । त्यस्तै सिंचाइ मन्त्रालय बेग्लै बनाइने भएको छ ।
संविधानमा मन्त्रीपरिषद २५ सदस्यीयसम्म बनाउन पाइने व्यवस्था छ । यसअघि मन्त्रीपरिषद प्रधानमन्त्रीसहित ७ सदस्यीय छ । प्रधानमन्त्री ओलीले शुक्रबार नै मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ ।
संघीय समाजवादी फोरमलाई समेत समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो । दिउँसो ४ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथको तयारी छ ।
को को हुँदैछन् मन्त्री ?
एमालेबाट प्रदीप ज्ञवाली, रविन्द्र अधिकारी, छविलाल विश्वकर्मा, प्रेम आले, योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, नारदमुनी राना, रघुबीर महासेठ लगायत मन्त्री बन्ने सम्भावना छ ।
माओवादीबाट वर्षमान पुन, शक्तिवहादुर बस्नेत, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, बिना मगर लगायतबाट मन्त्री बनाउने तयारी छ ।अहिलेसम्म जानकारी आएको छैन फोरम
संघीय समाजबादी फोरमले भने मन्त्रीपरिषद विस्तारबारे कुनै जानकारी आइनसकेको बताएको छ । फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरु पार्टीको प्रशिक्षणमा धुलिखेलमा रहेको तर अहिलेसम्म कतैबाट पनि जानकारी नआएको बताउनुभयो ।
मन्त्री बन्नेको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिइएपनि आफु अहिले अध्यक्ष सँगै रहेको र कसैको नाम पनि टुंगो लागिनसकेको उहाँको भनाई छ ।
उज्यालो अनलाईनबाट