बारासहित प्रदेश नं २ को ६ जिल्लामा बाडियो एन्टीभेनम सुई

ए वान डेस्क /
प्रदेश नं २ को बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा वर्षात र गर्मीको प्रकोपले सर्पदंश बढेकाले एन्टीभेनम सुई उपलब्ध गराइएको छ । प्रदेश नं २ को ६ जिल्लामा जिल्लाका स्वास्थ्य संस्थामा सर्पदंशबाट प्रभावित व्यक्तिलाई तत्काल उपचार गर्न एन्टीभेनम सुईको भायल शुक्रबार उपलब्ध गराइएकोे क्षेत्रीय मेडिकल स्टोर हेटौडाले जनाएको छ ।
एन्टीभेनम सुई १५० देखि बढीमा ८०० भायलसम्म सम्बन्धित जिल्ला अस्पताल, स्वास्थ्यचौकी र प्राथमिक उपचार केन्द्रमा पठाइएको मेडिकल स्टोरका प्रमुख रमण झाले बताउनुभयो ।
सो एन्टीभेनम सुईको भायल २ नं प्रदेशका जनकपुर अञ्चल अस्पताल, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, महोत्तरी जिल्ला अस्पताल, रौतहट जिल्ला अस्पताल, बाराको कलैया जिल्ला अस्पताल, निजगढ स्वास्थ्यचौकी बारा, मलगंवा जिल्ला अस्पताल र नवलपुर स्वास्थ्यचौकी सर्लाहीमा उपलब्ध गराइएको छ ।