राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारण सभा सम्पन्न

ए वान डेस्क
२७ पुष २०८२, आईतवार १४:५५
oplus_0

राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। जीतपुरसिमरा–२ नरबस्तीस्थित वन समूहको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले गर्नुभएको हो।

साधारण सभामा समूहका अध्यक्ष सत्यबहादुर श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना सार्वजनिक गर्नुभएको थियो । आगामी दिनमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, पर्यापर्यटन विकास र स्थानीय आयआर्जनलाई मुख्य प्राथमिकतामा राखिने अध्यक्ष श्रेष्ठले बताउनु भएको छ । साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार मुसहर्नीमाइदेखि भिमेश्वर मध्यवर्ती सामुदायिक वनसम्म मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मेश तारबार जडान कार्य सुरु भइसकेको छ। बाँकी क्षेत्रलाई समेत समेट्दै दीर्घकालीन समाधान खोज्ने योजना समूहले अघि सारेको छ । वन उपभोक्ता समूहले इको पार्क निर्माण, जिप सफारी सञ्चालन, वन्यजन्तुका लागि पानी पोखरी निर्माण तथा खाली क्षेत्रहरूमा वृक्षारोपणमार्फत वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

सभालाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले संरक्षणमा उल्लेखनीय प्रगति भए पनि पर्यटनको सम्भावना उपयोग हुन नसकेको बताएका छन्। उहाँले सामुदायिक वन र पर्सा राष्ट्रिय निकुञ्जबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै कम लगानीमा पर्यटनमुखी कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो।

इको पार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकाले कार्यक्रमका बिच जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सत्य बहादुर श्रेष्ण्लाई इको पार्क निर्माणसम्बन्धी डीपीआर औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतले मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरूले संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी कार्यक्रमहरू विधि र कानुनअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

यस्तै जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले मध्यवर्ती क्षेत्रका सामुदायिक वनले संरक्षणमा जिम्मेवारी बहन गरिरहे पनि बजेट अभाव ठूलो चुनौती रहेको बताउनुभयो। स्थानीय तहबाट थप बजेट सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ थियो।

सभामा वन उपभोक्ता समूहका पदाधिकारी, विभिन्न सामुदायिक वनका प्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय उपभोक्ताको सञ्चारकर्मि लगाएतको सहभागिता रहेको थियो। समुहकी सचिव रिता कंडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मि रञ्जना खतिवडाले गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*