पथलैयामा एक दिने कुष्ठरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ए वान डेस्क
२८ फाल्गुन २०८२, बिहीबार १७:३८
oplus_0

बाराको पथलैयामा एक दिने कुष्ठरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । द लेप्रोसी मिसन नेपालको आयोजनामा बारा जिल्लाका सरोकारवाला निकाय तथा पत्रकारहरूबिच पथलैयामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम प्रदेश स्वास्थ्य तालिम केन्द्र पथलैयामा आयोजना गरिएको थियो । कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२र०८३ को माघ महिनासम्म बारा जिल्लामा ४४ जना नयाँ कुष्ठरोगी बिरामी फेला परेका छन्। तीमध्ये १४ वर्ष मुनिका ४ जना बालबालिकामा पनि रोगको लक्षण देखिएको जनाइएको छ।

त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकामा मात्रै १३ जना नयाँ बिरामी भेटिएको जानकारी दिइएको छ। त्यस्तै आर्थिक वर्ष २०८१र०८२ मा जीतपुरसिमरा उपमहानगरपालिका भित्र २५ जना कुष्ठरोगी फेला परेका थिए, जसमध्ये १ जना बालबालिका रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बाराका प्रमुख चेतराज पण्डितले समयमै उपचार गराएर औषधि सेवन गरेमा कुष्ठरोग निको हुन बताए। उनले स्वास्थ्य, शिक्षा तथा जनचेतनाको विस्तारका कारण अहिले बिरामीहरू समयमै स्वास्थ्य संस्थामा पुग्ने क्रम बढेको बताए। उनका अनुसार समयमै उपचार गराएका कारण हाल भेटिएका ४४ जना बिरामीमध्ये कसैमा पनि जटिल अवस्था देखिएको छैन।

कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले अन्य स्थानीय तहको तुलनामा जीतपुरसिमरामा बिरामीको संख्या केही बढी देखिएकाले यस क्षेत्रमा प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरिएको बताए।
उनले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय सरकारबाट पनि कुष्ठरोग नियन्त्रण तथा जनचेतना कार्यक्रमका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवि कुमार भाष्करले कुष्ठरोगबारे समाजमा अझै पनि भ्रम र डर रहेको भन्दै समयमै जाँच र उपचार गराउन सबैलाई आग्रह गरे।
त्यसैगरी द लेप्रोसी मिसन नेपालका प्रोजेक्ट म्यानेजर सीता बिष्टले कुष्ठरोग विरुद्धको अभियानमा स्थानीय सरकार, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र समुदायको सहकार्य आवश्यक रहेको बताइन्।

बारा जिल्लाका फोकल पर्सन दिपेस यादवले जिल्लामा नियमित रूपमा स्क्रिनिङ, जनचेतना कार्यक्रम तथा बिरामीको पहिचान र उपचारलाई प्राथमिकता दिइँदै आएको जानकारी दिए।
कार्यक्रममा सरोकारवाला तथा पत्रकारहरूले कुष्ठरोगबारे समाजमा रहेको विभेद अन्त्य गर्दै जनचेतना विस्तार गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका थिए।

कार्यक्रममा सहभागि सरोकारवाला र सञ्चारकर्मिहरुले कुष्ठरोग बिरामीप्रति हुने सामाजिक विभेद हटाउन राज्य, स्थानीय तह र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको बताएका छन्। रोगबारे जानकारी अभावका कारण अझै पनि केही बिरामी ढिलो उपचारमा आउने अवस्था रहेको उल्लेख गर्दै स्वास्थ्य संस्था, स्थानीय सरकार र समुदायबीच समन्वय बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

यसैबीच चैत्र ४ गते आनन्द वन, काठमाडौंको चिकित्सक टोलीले कलैयामा कुष्ठरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी पनि कार्यक्रममा दिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*