जेनजी आन्दोलन प्रकरण : घर आगजनीपछि दर्जनौ युवामाथि मुद्दा, जेन्जि नेता सम्राट उपाध्यायसहितको पक्राउ पुर्जी जारी

फोटो : AI बाट तयार गरिएको तस्विर
ए वान डेस्क
१८ फाल्गुन २०८२, सोमबार २१:११

भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा तोडफोड तथा आगजनीका घटना भए । सोही पृष्ठभूमिमा बारा जिल्लामा पनि दुई पूर्व सांसदको घरमा आगजनी भएको घटना पुनः चर्चामा आएको छ । किसान श्रेष्ठ र ज्वाला साहको जीतपुरसिमरा उपमहानगरपालिकास्थित घरमा आन्दोलनकारी समूहद्वारा आगजनी गरिएको दाबी गर्दै दुवैले क्षतिको भरपाइ र कानुनी कारबाहीको मागसहित मुद्दा दायर गरेका हुन्। उनीहरूका अनुसार आगजनीबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय बारा स्रोतका अनुसार मुद्दा दर्तापछि केही व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको छ र अनुसन्धान अघि बढाइएको छ । उक्त आन्दोलनको नेतृत्व गरेका सम्राट उपाध्यायको नेतृत्वमा स्थानीय स्तरमा प्रदर्शन भएको थियो । हाल प्रहरी पक्षले घटनासम्बन्धी संलग्नता पुष्टि गर्न खोजी तथा अनुसन्धान जारी राखेको जनाएको छ।

यसैबीच, जेनजी अभियानसँग सम्बद्ध युवाहरूले पत्रकार सम्मेलन गरी आन्दोलनको नाममा आफूहरूमाथि मुद्दा दर्ता गर्नु अन्याय भएको दाबी गरेका छन्। उनीहरूले आन्दोलन शान्तिपूर्ण अधिकारको प्रयोग भएको बताउँदै आगजनीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

सम्राट उपाध्यायले “आन्दोलनको नाममा युवामाथि पक्राउ पुर्जी जारी गर्नु गलत भएको” दाबी गर्दै मुद्दा फिर्ता लिन आग्रह गरेका छन्। साथै, “मुद्दा फिर्ता नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने” चेतावनी पनि दिएका छन्।

उता, पूर्व सांसदद्वयले भने आगजनी घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने अडान दोहोर्‍याएका छन्।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*