तातोपानी नाकाबाट पहिलोपटक भित्रियो हेलिकप्टर
तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात भएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्याएको हो ।
उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको माउन्टेन हेलिकप्टर कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालले बताए ।
उनका अनुसार उक्त हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीमा बनेको हो । त्यसलाई चीनको बाटो हुँदै नेपाल ल्याइएको हो ।
उनले तातोपानी भन्सार नाका हुँदै कम्पनीले पहिलोपटक हेलिकप्टर ल्याएको बताए ।
तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र प्रसाद चुडालले आफूले पहिलोपटक तातोपानी नाकाबाट हेलिकप्टर आयात भएको थाहा पाएको बताए ।
चीनबाट नेपाल भित्रिने प्रमुख दुईवटा नाका छन् । एउटा तातोपानी र अर्को टिमुरे । टिमुरेको बाटो साँघुरो र अप्ठेरो भएकाले हेलिकप्टर ल्याउनलाई तातोपानी नाका रोजेको कम्पनीले जनाएको छ ।
उक्त हेलिकप्टर जाँचपास पछि माउन्टेन फ्लाइटमा प्रयोग गर्ने भुसालले बताए । उनका अनुसार माउन्टेन कम्पनी प्रालिसँग यो नयाँ हेलिकप्टरसहित तीनवटा हेलिकप्टर हुनेछन् ।
























