जीतपुरसिमरामा संस्थागततर्फ एकता स्कुलको नतिजा उपमहानगरमै उत्कृष्ट
जीतपुरसिमरा उपमहानगरपालिका ले सार्वजनिक गरेको कक्षा ८ को नतिजाले यसपटक शिक्षा क्षेत्रमा दुई फरक देखिएको छ । एकातिर निजी विद्यालयको उत्कृष्ट प्रदर्शन, अर्कोतिर सामुदायिक विद्यालयको चिन्ताजनक अवस्था छ ।
यस वर्ष बारा एकता बोर्डिङ स्कूलले ९६.८ प्रतिशत नतिजासहित शीर्ष स्थान ओगट्दै उत्कृष्टता कायम गरेको छ। ३१ विद्यार्थीमध्ये ३० जना उत्तीर्ण हुनुका साथै ९ जनाले A+, १७ जनाले A र ४ जनाले B+ ल्याएका छन् ।
उच्च नतिजा ल्याउने अन्य विद्यालयहरूमा सेन्ट अल्फान्स स्कूल औराहा, राष्ट्रिय विभूति शिक्षा सामुदायिक सदन, साना किसान शिक्षा सदन, अक्षरा पाठशाला, ब्राइटर एकेडेमी सिमरा र सफल होराइजन बोर्डिङ स्कूल अग्रस्थानमा देखिएका छन्।
तर सबै निजी विद्यालयको अवस्था भने समान छैन। लोटस एकेडेमी सिमरा को नतिजा ३५.८ प्रतिशत मात्र रहँदा निजी क्षेत्रभित्रै पनि असमानता देखिएको छ।
उता, सामुदायिक विद्यालयको अवस्था अझ गम्भीर छ। २९ मध्ये २५ विद्यालयको नतिजा अत्यन्त कमजोर देखिएको छ भने चार विद्यालय थानी आधारभूत विद्यालय, आदर्श आधारभूत विद्यालय, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिपरा र नेपाल राष्ट्रिय मौवादेवी माध्यमिक विद्यालयमा एक जना विद्यार्थीले समेत ग्रेड प्राप्त गर्न सकेनन् ।
धेरै विद्यालयले न्यूनतम नतिजा समेत कटाउन नसकेको तथ्याङ्कले स्थिति झन् गम्भीर बनाएको छ। ११ विद्यालय १० प्रतिशतभन्दा तल सीमित छन् भने २५ विद्यालयले ५० प्रतिशत नतिजा समेत पार गर्न सकेका छैनन्।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा मा १२८ मध्ये ८७ विद्यार्थी असफल हुँदा नतिजा ३२ प्रतिशतमा सीमित देखिएको छ । फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया मा पनि नतिजा क्रमशः २३.२ र २२.१ प्रतिशत मात्र रह्यो।
समग्रमा ८४५ विद्यार्थी ग्रेड प्राप्त गर्न असफल भएका छन्। तीमध्ये ३९५ जनाले मात्र पुनः परीक्षा दिन पाउनेछन् भने बाँकी ४५० विद्यार्थी पुनः कक्षा ८ मा भर्ना हुनुपर्ने अवस्था छ। शिक्षा शाखाका अधिकृत हरिश भट्ट का अनुसार दुईभन्दा बढी विषयमा असफल भएका विद्यार्थीलाई पुनः परीक्षा दिने अवसर नदिने व्यवस्था रहेको छ।















