जीतपुरसिमरा क्रिकेट कप आजदेखि शुरु, उद्घाटन खेलमा सर्लाही विजयी

ए वान डेस्क
२१ चैत्र २०८२, शनिबार २१:३५

सर्लाही जिल्ला क्रिकेट संघले तेस्रो जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।बाराको जीतपुरसिमरा ४ औराहस्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा पर्सा जिल्ला क्रिकेट संघलाई १७ रनले पराजित गर्दै सर्लाहीले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

१४६ रनको लक्ष्य पछ्याएको पर्सा १२८ रनमै समेटियो। पर्सालाई रोक्ने क्रममा सर्लाहीका जितेश मण्डल र अभय यादवले समान तीन/तीन विकेट लिए। राहुल महतोले दुई विकेट हात पार्दा चक्रधार यादव र अलि हसनले समान एक/एक विकेट लिए।

पर्साका लागि वशिम मन्सुरीले २३ रन बनाए भने अकिब अन्सारीले १८, आदर्श भण्डारीले १६, चन्दन राम र हासिम अन्सारीले समान १४ रन जोडे। अन्य ब्याटरले आकर्षक प्रदर्शन गर्न सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सर्लाहीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रन बनाएको थियो। सर्लाहीका जितेश मण्डलले सर्वाधिक ४६ रन बनाउँदा परिमार्जन यादवले ४१ रनको योगदान दिए। हेमन्त सिंहले १७ रन जोडे भने अन्य ब्याटरले खासै प्रभाव पार्न सकेनन् ।

पर्साका वशिम मन्सुरी र नितेश पटेलले समान दुई/दुई विकेट लिए भने आदर्श भण्डारी र चन्दन रामले एक/एक विकेट लिए।

उत्कृष्ट प्रदर्शन गरेका सर्लाहीका जितेश मण्डल ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले पुरस्कार प्रदान गरे। साथै जनकपुर बोल्ट्सका तर्फबाट विष्णु लामिछानेले मण्डललाई क्लबको जर्सी हस्तान्तरण गरे।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा सञ्चालित प्रतियोगिताअन्तर्गत आइतबार बारा जिल्ला क्रिकेट संघ र सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ। चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक जीतपुरसिमरा क्रिकेट क्लबसहित बारा, पर्सा, सर्लाही, मकवानपुर र चितवनका टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ तथा उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*