मन्त्री रवीन्द्रप्रसाद अधिकारीको शव यात्रा शुरु

ए वान डेस्क
१७ फाल्गुन २०७५, शुक्रबार १६:४९

हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको शव यात्रा पोखरामा अहिले शुरु भएको छ ।

प्रदर्शनी केन्द्रबाट शुरु भएको शव यात्रामा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका केन्द्रीय सदस्य योगेश भट्टराईलगायत पार्टीका हजारौँ कार्यकर्ताका साथै सर्वसाधारणको सहभागिता रहेको छ ।

शव यात्रामा नेपाली सेनाको एक टुकडीले शोकधुन बजाएको छ । सडकको दुवै पेटीमा उभिएका सर्वसाधारणले मन्त्री अधिकारीको शवमाथि पुष्प अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् । शव यात्राका सहभागीले पार्टीको झुकाइएको झण्डा बोकेका छन् । आफ्ना प्रिय नेतालाई गुमाएको पीडाले सबैको अनुहार निराश र भावविव्हल देखिन्छ ।

पोखराको प्रदर्शनी केन्द्रबाट शुरु भएको शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा र गीता मन्दिर मार्ग हुँदै रामघाटमा पुगी आजै नेता अधिकारीको अत्येष्टि गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*