जगदम्बाको प्रदुषण रोक्न माग गर्दे स्थानीयले सिडिओलाई बुझाए ज्ञापन
ए वान डेस्क /
जगदम्बा स्टिलको प्रदुषण रोक्न सिमराका स्थानीय सरोकारवालाहरुले माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय बारामा आज प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई ज्ञापन पत्र बुझाउदै स्थानीय सरोकारवालाहरुले प्रदुषण रोक्न माग गरेका हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको जगदम्बा स्टिल प्रालीले ब्यापक रुपमा प्रदुषण फैलाइरहेको भन्दै त्यसलाई रोक्न ज्ञापन पत्रमार्फत सरोकारवालाहरुले माग गरेका हुन् । ज्ञापन पत्रमार्फत सिमराका सरोकारवालाहरुले उद्योगले कबाडी गलाउने छड तथा वायर उत्पादन लगायतको काम गर्ने गरेका कारण ब्यापक रुपमा प्रदुषण फैलाइरहेको आरोप लगाएका छन् ।
उद्योगले सिमरा क्षेत्रमा ब्यापक प्रदुषण गरिरहेको र उद्योगले यस क्षेत्रका बासिन्दालाई अझै असर पर्ने गरी प्लान्टहरु थप्न लागेको जानकारी पत्रमार्फत उनीहरुले दिएका छन् । ज्ञापनपत्रमा प्रदुषण बढ्ने गरी थप्न लागिएको नयाँ प्लान्ट र कबाडी जलाउने भट्टीहरु तुरन्तै वन्द गर्नसमेत ज्ञापनमार्फत आग्रह गरिएको छ ।
कवाड गलाउने भट्टी बन्द गर्न तथा नयाँ उद्योगमा प्लान्ट स्थापना कार्य रोक्न फागुन ५ गते जीतपुरसिमरा उपमहानगरपालिकामा दिएको निवेदनमा कुनै सुनवाई नभएको समेत ज्ञापनपत्रमा जनाइएको छ ।
ज्ञापन पत्र बुझ्दै बाराका प्रमुख जिल्ला अधिकारी पौडेलले उद्योगसंग छलफल गरेर समस्याको समाधान खोज्ने बताउनुभयो । ‘यो बिषयमा उद्योगसंग छलफल गर्नुपर्ने हुन्छ, हामी छिट्टै छलफल गरेर समस्याको समाधान खोज्छौ’ उहाले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी पौडेललाई ज्ञापन पत्र बुझाउन बिभिन्न राजनितिक दलका नेता तथा संघ–संस्थाका व्यक्तिहरु आज जिल्ला प्रशासन कार्यालय बारा पुगेका थिए ।
ज्ञापनपत्रमा स्थानीय नेताहरु मनोज पौडेल, श्यामबाबु गुप्ता, हरी थपलिया, नारायण घिमिरे, छविलाल शर्मा, राजाराम साह, विरेन्द्र बास्कोटा, कर्णबहादुर थापा, कर्मबहादुर बोगटी, बलराम श्रेष्ठ लगायततको हस्ताक्षर रहेको छ ।















