भरतपुर आँखा अस्पताल : लक्ष्य आँखा बैंक स्थापना

ए वान डेस्क
१३ चैत्र २०७५, बुधबार ११:०७

भरतपुर आँखा अस्पतालमा दुई वर्षमा १५ वर्षदेखि ७५ वर्षसम्मका ५५ जनाको आँखामा नानी प्रत्यारोपण गरिएको छ ।

भरतपुरमा काठमाडौंको तिलगंगा आँखा अस्पतालबाट नानी ल्याएर प्रत्यारोपण गर्ने गरिएको छ । नानी प्रत्यारोपण गर्दा १० देखि ११ हजारसम्म शुल्क लाग्छ । अस्पतालमा आँखाको नानी बैंक नभएका कारण काठमाडौंबाट नानी ल्याउनु परेको अस्पतालका व्यवस्थापक दयाशंकर चौधरीले बताए ।

उनका अनुसार, भरतपुरमा संकलित आँखाको नानी (कोर्निया) रसायनमा राखेर एक दिनभित्रै तिलगंगाको आँखा नानी बैंकमा पठाइन्छ । आँखा दान गरेका व्यक्तिहरु दिवंगत भएपछि ६-७ घण्टाभित्र उनीहरुको नानी संकलन गरिन्छ ।

अस्पतालका कोर्निया बिषेशज्ञ पुष्पा गिरीले नानी बढीमा १२ घण्टासम्म निकाल्न र एक साताभित्र प्रत्यारोपण गरिसक्नुपर्ने बताइन् । उनका अनुसार, चितवन हालसम्म २५६ जनाले आँखा दान गरेका छन् । तीमध्ये चार जनाको आँखाबाट आठवटा नानी निकालिएको छ ।

अस्पतालका अध्यक्ष कृष्णराज धरेल आँखादान गर्नु पुण्य काम हो भनेर ब्यापक प्रचार हुन सके प्रत्यारोपणका लागि पालो कुर्नुपर्ने अवस्था नरहने बताउँछन् ।

भरतपुर आँखा अस्पतालमा वार्षिक सवा लाख जनाले सेवा पाइरहेका छन् । आँखा उपचार गराउनेको संख्या हरेक वर्ष बढ्दै छ । गत आर्थिक वर्षमा ६ हजार ७६६ जनाको आँखा अप्रेशन भएको यो अस्पतालमा चालु आर्थिक वर्षको फागुनसम्ममा दुई हजार ९२६ जनाको अप्रेशन भएको छ ।

नेपाल नेत्रज्योति संघद्वारा भरतपुर हाइटमा सञ्चालित यो अस्पतालले नौ वटा आँखा उपचार केन्द्रबाट पनि सेवा दिइरहेको छ ।

अस्पतालमा योजनै योजना

२०४४ चैतमा स्थापित भरतपुर आँखा अस्पतालमा २०७४ सालमा आँखाको नानी संकलन केन्द्र खोलियो । तर, प्रोसेसिङ उपकरण नहुँदा संकलित नानीलाई सुरक्षित राख्न काठमाडौं पठाउनुपर्ने वाध्यता छ । ‘उपकरण किन्न एक करोडभन्दा बढी रकम लाग्छ’ अस्पतालका धरेल भन्छन्, ‘अबको पाँच बर्षमा आँखा बैंक स्थापना गर्नेगरी स्वीकृतीको प्रकृया थालेका छौं ।’

उनकाअनुसार अन्तर्राष्ट्रिय आँखा बैंक महासंघमा आवद्ध नेपाल आँखा बैंकले सबै मापदण्ड पुगेपछि स्वीकृति दिन्छ । भरतपुरमा आँखा बैंक स्थापना र सञ्चालनका लागि भीमराज पाठक दम्पत्तीले १ करोड ५० लाख रुपैंया दान गरेका छन् ।

पाठक दम्पत्तिले खोली दिएको अक्षय कोषको ब्याजबाट अहिले पनि नानी संकलन खर्च जुटिरहेको छ । सेवा फाउण्डेसन, नेपालले आँखा बैंकका लागि आवश्यक पर्ने सबै उपकरणहरु क्रमशः उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

धेरै दाहसंस्कार हुने देवघाटमा नानी संकलन उपकेन्द्र खोल्ने अस्पतालको योजना छ । चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालसँग आँखाको नानी संकलन गर्ने गरी सम्झौता भइसकेको छ । डा. गिरीले इच्छापत्र नभरेका व्यक्तिको पनि मृत्युपछि परिवारजनले चाहेर बेलैमा खबर गरे नानी संकलन गर्न मिल्ने बताइन् ।

भरतपुर आँखा अस्पतालले शैक्षिक कार्यक्रम पनि सुरु गरेको छ । एमबीबीएसपछि हुने आँखा चिकित्साको तीनवर्षे कोर्षमा अहिले २० विद्यार्थी छन् । त्यसैगरी, एसईईपछिको तीनवर्षे अप्थाल्मोलोजिस्ट अस्सिटेन्ट प्लस टुपछिको चार वर्षे अप्टोमेटिस्ट कोर्ष पनि चालु छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*