सर्लाहीमा दुईजनाको मृत्यु
सर्लाहीको गोडैता नगरपालिका ६ बगदह चिनी उद्योग नजिक उखु लोड भएकाे ट्याक्टरमुनि एक जना मृत अवस्थामा फेला परेका छन् । बलरा नगरपालिका ५ अर्नाहाका २६ वर्षीय शम्भु महतो मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ना १ त ६६६६ नम्बरको ट्याक्टरको टेलरमुनि प्लाष्टिक ओछ्याएर सुतिरहेको अवस्थामा गएराति १२ बजेतिर उनकाे शब फेला परेको हो । मृतकको टाउको टेलर बाहिर निस्केकोले अन्य कुनै सवारी साधनले रातिको समयमा किचेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
कम्बल ओढेर सुतिरहको अवस्थामा उनकाे नाक मुखबाट रगत निस्केको र टाउको पछाडीको भाग किचिएको प्रहरीले जनाएको छ । महतो ट्याक्टर चालक हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी मंगलबार साँझ भैंसी चराउन गएकी इश्वरपुर नगरपालिका १५ सुक्नाहका राकेश साहको ५ वर्षीय छोरी काजल साहको लडेर मृत्यु भएको छ ।
भैसी बाँधेको डोरी उनको कम्मरमा बाँधेर घर आउँदै गर्दा भैंसी अचानक भागेपछि उनी लछार पछार भएर घाइते बनेकी थिइन् ।
उनलाई उपचारका लागि वयलबासतर्फ लैजादैँ गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।















