राजमार्गको सिसिटिभी भिडियोबाट पत्ता लाग्यो हत्यारा

ए वान डेस्क
१४ चैत्र २०७५, बिहीबार ११:५६

तेह्रथुम घर भई बेलबारी नगरपालिका–४ बसिरहेकी २६ वर्षीया रमिला राई गत फागुन १७ गते राति अचानक बेपत्ता भइन्।

त्यसदिन राई तत्कालीन एमालेका पूर्व नगरअध्यक्ष तथा बेलबारीस्थित नोबेल अस्पतालका अध्यक्ष योगेन्द्र गुरुङसँग विराटचोकको भावना होटल गएकी थिइन्। राईको परिवारसँग गुरुङ परिचित थिए।

गुरुङसँग गएकी रमिला घर नफर्केपछि परिवारले सोधीखोजी गरे। गुरुङले परिवारलाई भनेका थिए– साढे ११ बजे राति मैले घरसम्म छोडिदिएको थिएँ।

भोलिपल्ट रमिलाको परिवार लिएर गुरुङ आफैं इलाका प्रहरीक कार्यालय बेलबारी पुगे। बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईका अनुसार गुरुङले बेपत्ता भएकी रमिलाको खोजीका लागि पहल गरिदिन भन्दै आफैंले निवेदन दिए।

गुरुङसँगै हिँडेकी रमिला बेपत्ता भएको हुनाले प्रहरीले पहिले गुरुङबाटै ‘गोप्य’ अनुसन्धान थाल्यो। प्रहरी निरीक्षक राईका अनुसार गुरुङको मोबाइलको कल विवरण (सिडिआर) हेर्न थालिएको थियो। फागुन ११ गतेदेखि २५ गतेसम्म प्रहरीको खोजी कार्यमा संलग्न भइरहेकै थिए, गुरुङ।

‘आफैं खोज्न लागिपरेको घटनाबारे प्रहरीले प्राविधिक रुपमा अनुसन्धान थालेको र शंकाको घेरामा रहेको बुझेपछि गुरुङ एकाएक डराउन थाले,’ राईले भने।

प्रहरी अनुसन्धान आफैंतिर सोझिएको यकिन भएपछि गुरुङ विराटनगर जान्छु भन्दै फागुन २४ गते भागे। भागेको दुई दिनपछि उनलाई इलामबाट प्रहरीले फागुन २६ गते पक्राउ गरेको थियो।

पक्राउ परेपछि पनि उनले घटनाको वास्तविकता लुकाउन खोजे। प्रहरीले बेलबारीदेखि इटहरीपश्चिम कोसी ब्यारेजसम्म राजमार्ग किनारमा जोडिएका सिसिटिभी क्यामराको फुटेज निकाल्यो। जुन दिन रमिला हराएकी थिइन्, त्यही दिनको सिसिटिभी फुटेज प्रहरीले हेर्यो।

सिसिटिभी फुटेज हेर्दा गुरुङले प्रयोग गरिरहेको बा.१५च. ७९१६ गाडी इटहरीबाट पश्चिम दौडिएको देखियो। ‘बेलबारीदेखि इटहरीसम्म १३–१४ वटा सिसिटिभी छन्, ती हेर्दा गुरुङ पश्चिमतर्फ लागेको देखियो,’ प्रहरी निरीक्षक राईले भने।

सप्तकोसी कटान क्षेत्रको हुँदै प्रहरीले कोसी ब्यारेजको फुटेज निकाल्यो। गुरुङको गन्तव्य त्यहीँ रोकियो। जहाँ गुरुङले गाडीबाट एउटा बोरा निकालेर सप्तकोसी नदीमा फालेको भिडियो देखियो।

सिसिटिभी फुटेजमा योगेन्द्रले प्रयोग गर्दै आएको गाडी रातको साढे १२ बजे इटहरीबाट पश्चिम लागेको देखिएको थियो। ‘शनिबार बिहान साढे ४ बजेसम्मको फुटेज हेर्दा गुरुङ गोठगाउँबाट पूर्व लागेको देखिन्छ,’ राईले भने।

शव सप्तकोसीमा फालेपछि गुरुङले गाडी फर्काएको भिडियो रेकर्ड देखिएपछि रमिलाको हत्या गुरुङले नै गरेको भन्ने निष्कर्षमा प्रहरी पुगेको थियो।

यी सबै शृंखलामा प्रहरीले बयान लिएपछि हिरासतमा रहेका गुरुङले घटना लुकाउन सकेनन्। रमिलाको हत्या आफैंले गरेको स्वीकार गरे। कोसी ब्यारेजमा शव फालेको बयान दिए।

राईका अनुसार गुरुङले आफ्नो घरमै स्वासप्रश्वास बन्द गराएर रमिलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। बुधबार सप्तकोसी नदी किनारमा फेला परेको रमिलाको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

कोसी ब्यारेजमा फालेको पत्ता लागेकै दिनदेखि सप्तकोसी नदीमा गोताखोर, प्रहरी र माझीले लामो समय शव खोजी गरिरहेका थिए। २६ दिनपछि बुधबार ब्यारेजबाट तीन सय मिटर दक्षिण रमिलाको शव फेला परेको थियो।

शव फेला परेको स्थान सप्तरी गोबरगाडानजिक पर्छ। सप्तकोसी नदीमा बालुवा थुप्रिएको स्थानमा एउटा बोरा देखिएको थियो।

डुङ्गाबाट बोरा नदी किनारमा ल्याएर खोल्दा शव भेटिएको थियो। हात, खुट्टा बाँधिएको पोको पारेको अवस्थामा शव फेला परेको राईले बताए।

रमिला तेह्रथुममा विवाह गरेर श्रीमानसँग सम्बन्धविच्छेद गरी बेलबारीमा बस्दै आएकी थिइन्। उनकी एक छोरी छिन्। योगेन्द्र बेलबारी नगरपालिकाका एमालेका पूर्व नगरअध्यक्ष हुन्। उनी पनि विवाहित हुन्।

रमिला र योगेन्द्रबीच प्रेम सम्बन्ध रहेको बताइए पनि यसबारे प्रष्ट खुलिनसकेको प्रहरीले जनाएको छ। कहिलेकाहीँ दुईबीच वादविवाद हुँदै आएको थियो। प्रहरीका अनुसार योगेन्द्रले रमिलालाई आर्थिक सहयोग पनि गर्दै आएका थिए।

रमिला र गुरुङको सम्बन्धबारे रमिलाको परिवारलाई जानकारी थियो। तर, यही कुरा गुरुङको परिवारलाई चाहिँ थाहा थिएन।

प्रमिलासँग कहिलेकाहीँ झगडा भइरहने हुनाले त्यसको डर गुरुङलाई परेको हुन सक्ने प्रहरीको अनुमान छ। गुरुङ बेलबारीमा अस्पताल चलाउने, स्थानीय नेता भएकाले समाजमा ‘इजतिला’ ठानिन्थे।

‘सामाजिक कार्यकर्ता, परिवार भएको मान्छे। केटीले हल्लाखल्ला गर्न खोजेपछि त्यसलाई छोप्न हत्या गरेको हुनसक्छ,’ बेलबारी प्रहरीले भन्यो।

प्रहरीका अनुसार आर्थिक सहयोग गर्दै गुरुङले राईलाई ‘नजिक’ बनाएका थिए। घुमफिरका लागि प्रमिलालाई विभिन्न ठाउँ लैजान्थे। उनीहरूबीच लामो समयदेखि त्यस्तो ‘सम्बन्ध’ देखिएको प्रहरीले जनाएको छ।

‘भर्खर शव फेला परेको छ, शव परीक्षणपछि हामी घटनाको गहिराइसम्म पुग्छौं,’ प्रहरी निरीक्षक राईले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*