एसईई स्थगित हुँदा सरकारलाई कति घाटा ?

ए वान डेस्क
१७ चैत्र २०७५, आईतवार १७:२७

माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित हुँदा प्रदेश-२ को सरकारले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ।

शिक्षामा राज्यको लगानी पर्याप्त नभएको गुनासो बढीरहँदा यो क्षतिलाई कसरी पूर्ति गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र प्रदेश सरकार गृहकार्यमा जुटेको छ।

चैत १० गतेबाट सुरु भएको एसईई चार दिन चलेपछि प्रदेश-२मा स्थगित भयो। एक दिन परीक्षा सुरु भइसकेपछि प्रश्नपत्र बाहिरिएको जानकारी पाएपछि स्थगित भयो भने अर्को दिन परीक्षा सुरु हुनुभन्दा अघिल्लो दिन नै प्रश्नपत्र बाहिरीएपछि स्थगित भयो। यो घटना थियो गत बिहीबार र शुक्रबारको।

शनिबारको पनि परीक्षाअघि नै प्रश्नपत्र बजारमा गएको पुष्टि भएपछि सरकारले प्रदेश-२मा अनिश्चितकालका लागि परीक्षा स्थगित गरिदिएको छ।

यो निर्णयले प्रदेशमा ठूलो तनाव निम्तिएको छ। विद्यार्थी न्याय चाहियो भन्दै सडकमा बितण्डा मच्चाइरहेका छन्। प्रदेश-२मा जम्मा दुई सय ६३ परीक्षा केन्द्र छन्। यी सबै केन्द्रमा त्यत्ति नै संख्यामा केन्द्राध्यक्ष हुन्छन्।

सबै केन्द्रमा केन्द्राध्यक्षलगायत कर्मचारी खटिसकेको हुनाले परीक्षा स्थगित भएपनि उनीहरुलाई दैनिक भत्ता दिनुपर्छ। एउटा केन्द्राध्यक्षले दैनिक ८०० रुपैंया पाउँछ। यस हिसाबले उनीहरुको भत्तावापत एक दिनमा राज्यको दुई लाख १० हजार ६० रुपैंया फोकट खर्च हुन्छ।

यी सबै केन्द्रका लागि तीन सय ४५ सहायक केन्द्राध्यक्ष खटिएका हुन्छन्। उनीहरुलाई दैनिक ५०० भत्ता दिने सरकारी नियम छ। यस हिसाबले उनीहरुको भत्तामा दैनिक १ लाख ७२ हजार पाँच रुपैंया फोकट खर्च भएको छ।

अर्कोतर्फ, ३ हजार चार सय ३६ परीक्षा नियन्त्रक यो प्रदेशमा खटिएका छन्। उनीहरुलाई दैनिक तीन सय ५० भत्ता दिँदा कुल खर्च १२ लाख दुई हजार ६०० रुपैंया खर्च हुन्छ। यो प्रदेशमा खटिएका ५ हजार ८६ परीक्षा सहायकलाई दैनिक तीन सय भत्ता दिँदा १५ लाख २५ हजार आठ सय रुपैँया खर्च हुन्छ।

१ हजार २८१ कार्यालय सहायक र १ लाख ५५ हजार दुई सय ६३ सुरक्षाकर्मी परीक्षाको सुरक्षामा खटिएका छन्। यी सबैथरी कर्मचारीलाई दैनिक १५० रुपैँया भत्ता दिनुपर्ने हुन्छ। यसको लागि ७ लाख ८३ हजार ९ सय रुपैँया दैनिक खर्च हुन्छ।

यो सबै हिसाब गर्दा एक दिनमा ३८ लाख ९५ हजार २ सय रुपैँया फोकट खर्च भएको छ।

दुई दिनको लागि यो खर्च ७७ लाख ९० हजार चार सय रुपैँया हुन आउँछ। दुबैदिन परीक्षा स्थगित भएपनि सबै कर्मचारी कार्य क्षेत्रमा खटिसकेका थिए। परीक्षा नियन्त्रक (कक्षा १०) विष्णु अधिकारीका अनुसार एउटा प्रश्नपत्र छपाइ गर्दा तीन रुपैंया ५५ पैसा पर्छ। यो प्रदेशमा रहेका ७० हजार पाँच सय परीक्षार्थीको तथ्यांक जोडेर हिसाब गर्दा १ दिन परीक्षा रद्द हुँदा दुई लाख ५० हजार ७५ रुपैंया प्रश्नपत्रको लागि मात्र खर्च भएको छ।

प्रदेश-२मा रद्द भएका २ वटा परीक्षा र बाँकी सम्पन्न गर्नुपर्ने ३ सहित पाँच दिनको प्रश्नपत्र वापत लाग्ने सरकारको १२ लाख ५१ हजार ३७५ रुपैँया पनि फोकटमा खर्च भएको छ।

दैनिक भत्ता र प्रश्नपत्रका लागि मात्र दुईदिनको खर्च ८२ लाख ९० हजार ९५० रुपैँया हुन जान्छ । यस बाहेक परीक्षार्थीलाई वितरण गरिएको उत्तर पुस्तिकावापतको रकम, उत्तरपुस्तिका र प्रश्नपत्र ढुवानीको लागि थप रकम खर्च हुन्छ ।

त्यस बाहेक पाँच दिनको परीक्षा रद्द हुँदा परीक्षा हुन बाँकी रहेका विषयको परीक्षाका लागि पनि अर्को प्रश्नपत्र छाप्नुपर्ने हुन्छ । यो सबै हिसाब गर्दा प्रदेश-२को परीक्षा रद्द भएपछि १ करोडको हाराहारीमा थप आर्थिक क्षति सरकारले बेहोरेको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*