छिमेकी प्रदेशको पीडामा मल्हम लगाउन पुगे प्रदेश तीनका मुख्यमन्त्री पाैडेल
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोली हावाहुरीबाट प्रभावित क्षेत्र प्रदेश –२ को बारा पुगेको छ । छिमेकी प्रदेशमा पीडा पर्दा मल्हम लगाउन मुख्यमन्त्री पौडेलसहित दुई मन्त्री बारा पुगेका हुन् । उनीसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल पनि घटनास्थलमा पुगेका छन् ।
घटनास्थलमा पुगेका मुख्यमन्त्री पौडेलले पीडामा परेकाहरुको उपचार र मृतक परिवारलाई सहयोग गर्न कसर बाँकी नराखिने बताउनुभयो । हावाहुरीका कारण सबभन्दा बढी क्षति पुगेको बाराको फेटा गाउँपालिका–१, पुरनियामा मुख्यमन्त्री पौडेलसहितको टोली पुगेको हो । हावाहुरीका कारण पुरैनियामा ९ जनाको मृत्यु भएको छ ।
प्रदेश –३ का सामाजिक विकासमन्त्री युवराज दुलाल पनि हावाहुरीका कारण घाइते भएकाहरुको उपचार गर्नका लागि ९ जना स्वास्थ्यकर्मीको टोली लिएर बारा पुग्नुभएको छ। हेटौंडाबाट गएका स्वास्थ्यकर्मीले उपचार सेवा दिइरहेका छन् । हावाहुरीमा परि घाइते भएकालाई भेटेर मन्त्री दुलालले स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचारका लागि सहयोग गरिने मन्त्री दुलालले बताउनुभयो ।
हुरीका कारण भत्किएका घर, गोठ, विद्यालय, सार्वजनिक संरचनाको स्थलगत अवलोकनपछि मन्त्री दुलाल कलैया अस्पताल पग्नुभएको थियो । त्यस बस्तीमा हावाहुरीमा परि १५ जनाको मृत्यु भएको थियो भने ८० जना घाइते भएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताउनुभयो ।















