फोहोर बोकेको टिप्परको ठक्करबाट बालकको ज्यान गएपछि उपत्यकाको फोहोर विसर्जनमा अवरोध
टिप्परको ठक्करबाट मङ्गलबार एक बालकको ज्यान गएको र एक बालक गम्भीर घाइते भएको विरोधमा काठमाण्डौ उपत्यकाको फोहर विसर्जनमा नुवाकोट सिसडोलका स्थानीयवासीन्दाले अवरोध पुर्याएका छन् ।
काठमाण्डौबाट फोहर बोकेर आइरहेको टिप्परको ठक्करबाट मङ्गलबार नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका १३ वर्षीय संजोक नेपालीको ज्यान गएको थियो भने १२ वर्षीय राजन नेपाली गम्भीर घाइते भएका थिए ।
यो घटनाको विरोधमा मङ्गलबार अपराह्नदेखि स्थानीयवासीन्दाले पुर्याएको अवरोध बुधबार पनि कायमै छ । उपत्यकाबाट फोहर बोकेर आएका करिब १०० बढी कन्टेनरलगायतका सवारी विरोधका कारण सडकमा नै रोकिएका छन् ।
फोहर बोकेर विसर्जन गर्न उपत्यकाबाट आएका गाडीलाई काठमाण्डौबाट नुवाकोट प्रवेश गर्ने सीमा तीनपिप्लेबाट आउन नदिएको ककनी गाउँपालिका–२ का वडाध्यक्ष केदार पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनापश्चात काठमाण्डौ महानगरपालिकासँग पीडितपक्ष र सरोकारवाला सम्मिलित छलफलमा मृतक व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति, घाइते बालकलाई निःशुल्क उपचार र कक्षा १२ सम्म अध्ययनको व्यवस्था र दोषी चालकलाई कारवाहीको माग राखिएको छ ।
“कामपाले ललितपुर महानगरपालिकामार्फत परिचालन भएको टिप्पर भएकाले समाधानका लागि यसै निकायबाट नै पहल गर्नुपर्ने भन्दै पन्छिएकाले समस्या समाधानतर्फ उन्मुख हुन सकेन”, पौडेलले भन्नुभयो ।
घटनाको विरोधमा फोहर विसर्जन गर्न अवरोध पुर्याएका स्थानीयवासीले अन्य सवारीसाधन भने सञ्चालनमा रोक नलगाएकोे जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो ।
विरोधमा उत्रिएका पीडितपक्षले काठमाण्डौको ग्राण्डी अस्पतालमा रहेको शव बुझ्न अस्वीकार गर्दै आएका छन् । घाइते अर्का बालक राजनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।















