साढे ६ करोड वर्षअघि डायनासोर लोप गराउने उल्कापिण्ड
छ करोड ६० लाख वर्षअघि आकाशबाट एउटा विशाल उल्कापिण्ड पृथ्वीमा खसेको थियो।
बाह्र किलोमिटर लामो त्यो उल्कापिण्डले पृथ्वीको सतहमा आगोका लप्का उठे। वायुमण्डल धुवाँको मुस्लोले भरियो। पृथ्वीमा विनाशकारी भुइँचालो आए। समुद्रमा हिमालझैं अग्ला पानीका छाल लहराए।
यसले उल्कापिण्ड खसेको ठाउँभन्दा कोशौं टाढासम्म आफ्नो प्रभाव छाड्यो।
यही प्रभावले त्यतिबेला पृथ्वीमा राज गर्ने भीमकाय जन्तु डायनासोर लोप भए। अन्य स्तनधारी र घस्रने जीवजन्तुको पनि विनाश भयो। पानीको गहिराइमा बस्ने प्राणी मात्र मुश्किलले बाँचे।
पृथ्वीमा विनाशलीला मच्चाएको त्यो उल्कापिण्ड कहाँ खसेको थियो तपाईंहरूलाई थाहा छ?
त्यो ठाउँ मेक्सिकोको युकातान प्रायद्वीप हो।
सन् २०१६ देखि उक्त उल्कापिण्डबारे अनुसन्धान गर्दै आएको वैज्ञानिक टोलीले नयाँ तथ्य सार्वजनिक गरेको छ।
उनीहरूले मेक्सिकोभन्दा टाढा अमेरिकाको उत्तरी डकोटामा जीव तथा वनस्पतिका यस्ता अवशेष (फोसिल) फेला पारेका छन्, जुन उल्कापिण्ड खसेकै समयजति पुरानो छ। अर्थात्, ६ करोड ६० लाख वर्ष।
‘नेसनल एकेडेमी अफ साइन्सेस’ नामक जर्नलमा प्रकाशन हुने क्रममा रहेको उक्त अनुसन्धान प्रतिवेदन यही शुक्रबार पत्रकारहरूका लागि सार्वजनिक गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ।
बाह्र जना वैज्ञानिक संलग्न उक्त अनुसन्धानले उल्कापिण्ड खसेर कसरी मेक्सिकोको प्राचीन ताल र पृथ्वीका जीवजन्तु लोप भए भन्ने वर्णन गरेको छ।
वैज्ञानिक टोलीले उत्तरी डकोटामा वर्षौं वर्षदेखि पुरिएका रहेको चार फिट गहिरो माटोको पत्र उत्खनन् गरेको थियो। त्यही पत्रमा उल्कापिण्ड खस्ने समयकै जैविक अवशेष फेला परेको न्यूयोर्क टाइम्सले लेखेको छ।
अनुसन्धानकर्ताहरूले उत्तरी डकोटामा फेला परेको जैविक अवशेषलाई अहिलेसम्मकै उत्कृष्ट बताएका छन्।
‘यो अवशेष यति स्पष्ट छ, हामी यसबाट छ करोड ६० लाख वर्षअघि पृथ्वीको वनस्पति र जैविक अवस्था अध्ययन गर्न सक्छौं,’ अनुसन्धानकर्ता रोबर्ट ए डेपाल्मालाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ।
उनका अनुसार चट्टान र माटोका पत्रमा त्यतिबेलाका रूख, बोटबिरुवा, हाँगाबिँगा, माछा र अन्य जनावरका अवशेष छन्। उल्कापिण्डको प्रभावले ती वनस्पति र जीवजन्तु मासिएको वैज्ञानिकहरू बताउँछन्।
वैज्ञानिकका अनुसार मेक्सिकोको युकातान प्रायद्वीपमा उल्कापिण्ड खसेपछि ३ सय अर्ब टनभन्दा बढी सल्फरले पृथ्वीको वायुमण्डल ढाकेको थियो। यसको प्रभाव चारैतिर फैलियो। हजारौं माइल परेको उत्तरी डकोटासम्म पुग्यो।
उल्कापिण्डले केही घन्टामै भुइँचालो र समुद्रमा सुनामी ल्याएको थियो। यसले वर्षौं वर्ष पृथ्वीको तापक्रम पानी जम्ने शून्य डिग्रीभन्दा तल झर्यो। यस्तोमा कुनै जीवजन्तु बाँच्ने गुञ्जायस थिएन। समुद्री तापक्रम त सयौं वर्ष यही स्थितिमा रह्यो।
उल्कापिण्ड १८ किलोमिटर प्रतिसेकेन्डको गतिमा पृथ्वीसँग ठोक्किएको थियो। यसले पृथ्वीका अर्बौं अर्ब चट्टान धूलोपिठो भए। कति त धुँवा बनेर उडे। वायुमण्डलभरि धुवाँ र धुलोको मुस्लो छायो। यसले ३ सय २५ गिगाटन सल्फर र ४२५ गिगाटन कार्बन–डाइ–अक्साइड वायुमण्डलमा मिसिएको अनुसन्धानकर्ताको भनाइ छ।
सास फेर्दा मुखबाट फाल्ने कार्बन–डाइ–अक्साइडले वायुमण्डलको तापक्रममा दीर्घकालीन असर पार्नसक्छ। यसले पृथ्वीको तापक्रम तात्तिँदै जानुपर्ने हो। सल्फर पनि मिसिएपछि भने चिस्सियो। सल्फरयुक्त धुवाँ र धुलोको मुस्लो यति बाक्लो थियो, त्यसले सूर्यको किरण पृथ्वीसम्म आउने बाटोधरि छेक्यो। सूर्यको किरण ८५ प्रतिशत छेकिएको वैज्ञानिकको आकलन छ।
उल्कापिण्ड पृथ्वीमा ठोक्किँदा दस करोड अणुबम एकैचोटि विस्फोट भएजति शक्ति निस्केको थियो। यही शक्तिले जैविक विकास प्रक्रिया तहसनहस पारेको उनीहरू बताउँछन्।
पृथ्वीको आकस्मिक जलवायु परिवर्तनलाई त्यतिबेलाका जीवजन्तु र वनस्पतिले सहन सकेनन्। खासगरी करोडौं वर्षदेखि पृथ्वीमा राज गर्दै आएका डायनासोरजस्ता भीमकाय जनावर नै जलवायु परिवर्तनको चपेटामा परे। चिस्सिएको पृथ्वीसँग उनीहरू अभ्यस्त हुन सकेनन्। र, भकाभक यो धर्तीबाट लोप हुँदै गए। त्यही हालत अन्य स्तनधारी, घस्रने जनावर र वनस्पतिहरूको पनि भयो।
यो विनाशलीलापछि पृथ्वीमा फेरि जीवजन्तु र वनस्पतिको उदय हुन लाखौं वर्ष लाग्यो। यसलाई पृथ्वीको पाँचौं आमविनाशकारी घटना मानिन्छ।
अहिलेसम्मको खोजअनुसार साढे ६ करोड वर्षअघि उल्कापिण्ड ठोक्किँदा मेक्सिको खाडीमा १०० किलोमिटर लामो र ३० किलोमिटर गहिरो खाडल बनेको थियो। गहिरो खाडलका डिलमा चुचुरा बनेका थिए। तपाईं हिलो माटोमा ढुंगा खस्दा के हुन्छ, कल्पना गर्नुस् त? ढुंगाले सानो खाल्डो पार्छ र त्यही खाल्डो वरिपरि माटो चुच्चो–चुच्चो परेर बस्छ। मेक्सिकोको त्यो विशाल खाडलमा ठ्याक्कै त्यस्तै चुचुरा बनेका थिए।
अहिले यो खाडलको अधिकांश हिस्सा समुद्रमुनि छ। केही हिस्सा जमिनमा भए पनि आकृति मात्र देखिन्छ। धेरैजसो भाग चुनढुंगा (लाइमस्टोन) को थुप्रोले ढाकिएको छ।
वैज्ञानिक टोलीले गत वर्ष मे र जुन महिनामा उक्त खाडल उत्खनन् गरेका थिए। अनुसन्धान क्रममा समुद्री सतहमुनिको चट्टान खनेर हेर्दा उनीहरूले ग्रेनाइट भेटे। पृथ्वीको सतहभन्दा निकै गहिराइमा मात्र पाइने यस्तो चट्टान त्यति माथि फेला पर्नुले साढे ६ करोड वर्षअघिको रहस्योद्घाटन भयो।
वैज्ञानिकहरू के नतिजामा पुगे भने, त्यतिबेला उल्कापिण्डको प्रभाव यति भयानक र विनाशकारी थियो, त्यसले पृथ्वीको लगभग १० किलोमिटर मुनिको चट्टानलाई एकाएक माथि सतहमा ल्याइदियो।
गहिराइबाट एकैचोटि सतहमा आइपुग्दा ती चट्टान तरल पदार्थझैं यताउति तैरिरहेका थिए। एक समय त यस्तो पनि आयो, ती चट्टान सगरमाथा जत्तिकै अग्लो भए। त्यो एकदमै थोरै समयका लागि थियो, एक मिनेटभन्दा कम। त्यसपछि तुरुन्तै पग्लिएर स–साना चुचुरामा परिणत भए।
पृथ्वीको सतहमा उल्कापिण्डले पारेको यस्तो असरमाथि खोज हुन थालेको निकै समय भइसक्यो। वाल्टर अल्भारेज भन्ने वैज्ञानिकले सबभन्दा पहिला माटोमा ‘इरिडियम’ भन्ने पदार्थ भेटेका थिए। यस्तो पदार्थ बाह्य पिण्डमा मात्र पाइन्थ्यो।
डायनासोर तथा त्यतिबेलाका जीवजन्तु पृथ्वीबाट लोप भएको र माटोमा त्यस्तो पदार्थ मिसिएको समय लगभग एकै थियो। यही आधारमा अल्भारेजले कुनै उल्कापिण्ड पृथ्वीमा खसेपछि डायनासोर लोप भएको हुनसक्ने अवधारणा अघि सारे। उनको यो अवधारणा सुरुमा निकै विवादित भयो।
सन् १९९० मा मेक्सिको प्रायद्वीपमा उल्कापिण्ड खसेर बनेको विशाल खाडल फेला परेपछि बल्ल वैज्ञानिकहरूले अल्भारेजको अवधारणामा विश्वास गर्न थालेका हुन्।
आफ्नो बाटोमा घुमिरेका उल्कापिण्डहरू कहिलेकाहीँ अचानक सौर्यमण्डलभित्र छिर्छन्। अनपेक्षित बाह्य तत्वको प्रवेशले कुनै परिवारमा हलचल ल्याएजस्तै यस्तो उल्कापिण्डको प्रवेशले पनि सौर्यमण्डल परिवारमा हलचल ल्याउँछ। त्यस्ता उल्कापिण्ड सौर्यमण्डलभित्र छिर्दा कहिले पृथ्वी त कहिले अन्य ग्रहसँग ठोक्किने गर्छ।
पृथ्वीको उत्पत्ति क्रममा यस्ता घटना धेरै भएको वैज्ञानिकले भन्दै आएका छन्। उनीहरूका अनुसार भविष्यमा पनि आकाशबाट उल्कापिण्ड खसेर पृथ्वीसँग ठोक्किन सक्छ। तर, त्यस्ता पिण्डको आकार उतिबेलाको भन्दा सानो हुन्छ र त्यो टकराव उहिलेजस्तो भयानक हुँदैन। क्षति पनि खासै ठूलो हुँदैन।















