होटलमा चर्को संगीत बजेपछि गोहीको मृत्यु
भारतको चेन्नईस्थित एक होटलमा साउन्ड सिस्टमका कारण दुर्लभ प्रजातिको एउटा गोही मरेको छ ।
चेन्नईको प्रसिद्ध ईस्ट कोस्ट रोडमा रहेको शेराटन ग्रान्ड रिजोर्टको छेउमै रहेको एउटा चिडियाखानामा गोही राखिएको थियो । चिडियाखानाका अधिकारीहरूले होटलमा राति अबेलासम्म पार्टी चलेको र चर्को साउन्ड सिस्टमबाट आएको थर्काहटका कारण तनावले गर्दा गोहीको मृत्यु भएको आरोप लगाएका छन् ।
शनिवार यसको जानकारी दिँदै चिडियाखानाका संस्थापक सदस्य रोमुलस विटेकरले होटल र चिडियाखानाबीच कुल दूरी ५० फीटभन्दा कम भएको बताए । चिडियाखाना र होटलबीच एउटा पर्खाल नजिक उक्त गोही राखिएको र साउन्ड सिस्टमका कारण उसको ज्यान गएको बताए ।
उक्त गोही मादा भएको र उसको उमेर १२ वर्ष रहेको बताइएको छ ।
गोहीलाई अन्तै सार्ने योजनामा विचार गरिएको उनले बताए ।
तनावका कारण दुर्लभ जीवहरू मरेको यो पहिलो घटना हैन । चिडियाखाना सञ्चालन गर्ने मद्रास क्रोकोडाइल बैंकले पहिले पनि यस्तो घटना भएको बताएको छ ।
शेराटन ग्रान्ड रिजोर्टका अधिकारीहरूले चिडियाखानालाई सबै सहायता दिने बताएका छन् ।















