बारामा फेरि हावाहुरी र असिना : रेडियो र बिजुलीका टावर ढले, घरका छाना उडे, एसईई परीक्षा समेत प्रभावित

ए वान डेस्क
२६ चैत्र २०७५, मंगलवार १४:०४

गत आइतबार आएको हुरीबाट प्रभावित भएका स्थानीयलाई मंगलबाल बिहान आएको वर्षा र हुरीले झन प्रभावित बनाएको छ। त्रासमा रहेका पीडित पानी र हुरी आएपछि झन् पीडित भएको फेटा गाउँपालिका-१ भलुई बिक्की महतोले जानकारी दिए।

महतोका अनुसार हुरीले टेन्टमा क्षति नपुर्याए पनि केही त्रिपाल भने उडाएका छन्। ‘पानी र हुरी आउन थालेपछि टेन्टभित्र लुक्न थाल्यौं।केही बेर त आत्तियौ’, महतोले भने,’ तर केही मानवीय क्षति भने भएन।

वर्षा र हुरीपछि चिसो बढेको छ।चिसो बढ्दा प्रभावित क्षेत्रका बालबालिका र वृद्धवृद्धा प्रभावित बनेका छन्। हुरीबाट घरविहीन बनेका पीडितसँग लुगा समेत छैन्। केही प्रभावितलाई आफन्तले लत्ताकपडा ल्याएर सहयोग गरिरहेका छन्।

हुरीले सिमरामा रहेको रेडियो सिमराको टावर ढलेको छ। केही दिनअघि मात्रै मर्मत गरिएको टावर ठूला हावाले ढालेको रेडियोका निर्देशक सत्य श्रेष्ठले जानकारी दिए। टावर ढलेपछि रेडियो प्रसारण बन्द भएको छ।

यसैगरी सिमरामा रहेको अल्पाईन गार्मेन्टको भान्सा घर भत्किएको छ। वर्षासँगै आएको ठूलो हुरीले गार्मेन्ट परिसरमा रहेको भान्साघरको छाना उडाएको र पर्खाल भत्किएको सञ्चालन हंकल्पित न्यौपाने जानकारी दिए। हुरीले जस्ता उडाउन थालेपछि भान्सा घरभित्र रहेका कर्मचारीले भागेर ज्यान जोगाएका थिए।

हुरी र वर्षाले सिमराको नरवस्ती क्षेत्रमा बढी क्षति पुगेको छ। हुरीले क्षति पुगेपछि जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल प्रभावित क्षेत्र पुगेर स्थलगत निरीक्षण गरेका छन्।

मेयर डा. पौडेलले नरवस्ती क्षेत्रका नागकिरको घरको छाना उडाउनुका साथै पर्खाल, बिजुलीको पोल ढलेको जानकारी दिएका छन्। असिना र हुरीले जिल्लाको विभिन्न स्थानका किसानको बाली समेत नष्ट गरेको छ। हुरीले करैयामाई गाउँपालिकाको मधुवन प्रहरी चौकीको छाना उडाउँदा प्रहरीको बिचल्ली भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले सामान्य क्षति भएपनि जिल्लामा मानविय क्षति भने नभएको जानकारी दिएका छन्।

वर्षासँगै आएको हावाहुरी र असिनाले बारामा एसईई परीक्षा प्रभावित भएको छ। कार्य सञ्चालन तथा लेखा विषयको परिक्षा भइरहेका बेला ठूलो असिनासहितको वर्षा र हुरी आएपछि परीक्षा केही बेर रोकियो।

वर्षा र हुरी आएपछि परीक्षा केन्द्रमा परीक्षार्थीलाई केही समय थप गरेर लेख्न दिइएको थियो।सिमरा क्षेत्रका सुपरीटेण्डेन्ट शंकर आचार्यका अनुसार परीक्षा कोठाभित्र हुरीसँगै पानी परेर परीक्षा रोकिएपछि १५ मिनेट थप गरिएको हो।

‘झ्यालबाट पानी र हावा पसेर विद्यार्थीले लेख्न समेत सकेनन्, कोठा नै अँध्यारो भयो,’ आचार्यले भने,’विद्यार्थी धेरै अत्तालिएपछि हामीले रोकिएको समय थप गरेर लेख्न दियौं।’

परीक्षा भवन बाहिर रुखका हांगा समेत भाँचिएर खस्न थालेपछि केही समय त्रासको स्थिति सृजना भएको आचार्यले बताए। सिमरामात्र नभई पथलैया, जीतपुर, डुमरवानालगायतका परीक्षा केन्द्रमा समेत एसईई परीक्षा प्रभावित भयो। ठूलो वर्षासँगै आएको हुरीले जिल्लाको उत्तरी क्षेत्र बढी प्रभावित बनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*