अमलेखगञ्जमा क्षेत्रिय फुटबल प्रतियोगिता शुरु, उद्घाटनमा आर्मि विजयी
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जमा आजदेखि क्षेत्रिय फुुटबल प्रतियोगिता शुरु भएको छ । श्री शिद्धबाबा युवा क्लब अमलेखगञ्जको आयोजनामा आजदेखि क्षेत्रिय फुटबल प्रतियोगिता शुरु भएको हो ।
स्वर्गिय प्रदिप बलको स्मृतीमा आयोजित क्षेत्रिय कप फुटबल प्रतियोगिताको प्रदेश नम्बर २ की प्रदेशसभा सदस्य सिता गुरुङ्गले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य गुरुङ्गले खेल क्षेत्रको विकास गर्न सम्बद्ध सबै पक्ष एक हुनुपर्नेमा जोड दिनुभयो । खेल क्षेत्रमार्फत समग्र देशको विकास गर्न सकिनेभन्दै उहाले युवाहरु सक्रिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले खेल क्षेत्रको विकास गर्न उपमहानगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मणिकलाल थिङ्ग, वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण प्रसाद ठकुरी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
आयोजक श्री शिद्धबाबा युवा क्लबका अध्यक्ष दिपेन्द्र लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रोहित घिसिङ्गले गर्नुभएको थियो ।
उद्घाटन खेलमा आर्मि विजयी
प्रतियोगिता अन्र्तगत आज भएको उद्घाटन खेलमा आर्मिको प्रतिबिद्रोह तथा जंगलवारफेर स्कुल अमलेखगञ्ज विजयी भएको छ । अमलेखगञ्जको १ नं पुल नजिकै रहेको विषधारी पेट्रोल पम्पको पुर्वतर्फ रहेको खेल मैदानमा भएको प्रतियोगितामा बारा ११ लाई सडन डेथमा पराजित गर्दे आर्मि विजयी भएको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । तर ट्राईब्रेकरमा पनि दुवै टिमबाट ५–५ गोल भएपछि अन्तिम निर्णय सडन डेथमार्फत गरिएको थियो । प्रतियोगिता अन्र्तगत खेलको म्यान अफ दि म्याच आर्मिका निर प्रसाद टुरा घोषित भए । आयोजकका अनुसार भोलि दुई खेल हुनेछ ।
दिउसो १ बजे हुने पहिलो खेल सर्लाही जिल्ला फुटबल संघ लालबन्दि र बागेश्वरी फुटबल क्लब नारायणघाट बिच हुनेछ भने दोश्रो खेल हेटौडा एकेडेमी हेटौडा र सिमराको नव जनजागृती युवा क्लब सिमराबित प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष दिपेन्द्र लामाले ए वान समाचारलाई जानकारी दिनुभयो ।
१० टिमको सहभागिता
प्रतियोगितामा आयोजक श्री शिद्धिबाबा युवा क्लबसहित १० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक श्री सिद्धबाबा युवा क्लब अमलेखगञ्जसहित बागेश्वरी फुटबल क्लब, नारायणघाट, सर्लाही जिल्ला फुटबल संघ लालबन्दि, हेटौडा एकेडेमी मकवानपुर, नव जनजागृती युवा क्लब सिमरा, बीरगञ्ज युथ एकेडेमी, नेपाल फुटबल क्लब चपुर, प्रतिबिद्रोह तथा जंगलवारफेर स्कुल अमलेखगञ्ज, बारा ११ बारा र मकवानपुर ११ मकवानपुर गरी १० वटा टिमको सहभागिता रहेको अध्यक्ष लामाले बताउनुभयो ।
प्रतियोगिताको बिजेताले १ लाख तथा उप–बिजेताले ५० हजार रुपैया पाउने अध्यक्ष लामाले जानकारी दिनुभयो ।
को हुन् प्रदिप बल ?
अमलेखगञ्ज निवासी प्रदिप बलको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको थियो । २०३७ साल असोज २० गते जन्मेका बलको मृत्यु २०६९ साल साउन २६ गते भएको थियो । पुर्व राष्ट्रिय खेलाडीसमेत रहेका बलले खेल क्षेत्रमा महत्पुर्ण योगदान पुर्याएका थिए ।
क्षेत्रिय, जिल्ला स्तरीय हुदै राष्ट्रिय स्तरको खेलसम्म फुटबल खेल खेलका बल अमलेखगञ्जमा अहिलेपनि लोकप्रिय खेलाडीका रुपमा चिनिन्छन् । श्री शिद्धबाबा युवा क्लबमा समेत लामो समय सक्रिय भुमिका निर्वाह गरेका बल सामाजिक क्षेत्रमा समेत सक्रिय थिए ।
















